युवा उद्यमी महासघंको अभियान युवालाई उद्यम

सिड्नी । देश विदेशमा रहेका युवा उद्यमीहरुलाई प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघले आफ्नो स्थापनाको १ वर्ष नहुदै नेपालका उद्यमीहरुलाई संस्था भित्र जोड्न लागिपरिरहेको छ । हालसम्म एकदर्जन भन्दा बढी देशहरुमा स्थापित संस्थाले युवा उद्यमीहरुको पक्षमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

संस्थाको सिड्नी शाखाले हालै मात्र एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्दै सम्पूर्ण नेपालीहरुको अभिभावक बन्न दुतावास तैयार रहेको र सहयोग र सहकार्य सदैव रहने प्रतिक्रिया दिए । उनले व्यवसायमा लाग्न युवाहरुलाई प्रेरित गर्न सके त्यसले देशको आर्थिक वृद्धिदर समेत उचो राख्न मद्धत पुर्याउने भएकाले संस्थाको काम निकै महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

उनले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई झनै बलियो र विश्वासिलो बनाएर अगाडि बढाउंन सकेमा नेपाल र नेपालीहरूको बृहत्तर विकास हुने कुरामा जोड दिए ।

न्यू साथउ वेल्स राज्यका महावाणिज्य दूत दिपक खड्काले युवाहरुका अवसर खोजी उनीहरुलाई व्यवसायसगं जोड्दै उद्यमको क्षेत्रमा नेपाल र नेपाली युवालाई अगाडी बढाउन संस्थाले गरेको कामको प्रशसां गरे ।

कार्यक्रममा अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघका केन्द्रिय अध्यक्ष स्वतन्त्र प्रताप शाहले प्रवासमा विभिन्न व्यवसाय र उद्यममा लागेका युवा नेपालीलाई समेटेर मुलुकसँग जोड्ने संस्थाको मुल उद्देष्य रहेको प्रष्ट पारे । प्रबासमा छरिएर रहेका नेपालीहरूको पूँजी, दिमाग, सोच र सीपलाई नेपाल र नेपालीसम्म पुर्याउंनु नै आफुहरुको उद्धेश्य रहेको भन्दै उनले यसमा सबैको साथ र सहकार्यको आवश्यता रहेको औँल्याए ।

कार्यक्रममा आयोजक एनएसडब्लु राज्यका संयोजक लक्ष्मण सापकोटाले उद्यमी बन्दा शुरूमा गाह्रो भएपनि धैर्य नगुमाउंन सुझाए भने युवा उद्यमी संघ अष्ट्रेलियाका अध्यक्ष दिक्पालदेव पँगेनीले नेपाल र नेपालीलाई जोड्ने अभियान र यात्रामा सँगै हिड्न आह्वान् गरे ।

संस्थाका युवा अभियन्ता अमृत पौडेलले नेपालको भौगोलिक आधारमा पर्यटन प्रवर्द्धनका लागि अतिथि सत्कार परियोजनाको परिकल्पना प्रस्तुत गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरूङ, उद्यमी महासंघ न्यु साउथवेल्स कमिटीका सचिव दीपक ज्ञवाली, एनआरएनका अभियन्ता दिनेश पोखरेल, युवा उद्यमी किरण थापा, सागर लोहनी, झापाली समाजका अध्यक्ष निरन्जन प्रसाइँ र नेपाल अस्ट्रेलिया पत्रकार संघका अध्यक्ष ऋषि आचार्यलगायतले बोलेका थिए ।