अस्ट्रेलियामा दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु

सिड्नी । अस्ट्रेलियामा अध्ययनकालागि आएका नेपाली विद्यार्थीहरुको दुर्घटनामा निधन हुने क्रम बढ्दो छ । यसैबीच अस्ट्रेलियाको तास्मानियामा मोटरसाईकल सिक्ने क्रममा कारले ठक्कर दिँदा एक नेपाली युवाको मृत्यु भएको छ ।

विपरीत दिसाबाट आउँदै गरेको कारको ठक्करबाट ललितपुर गोदावरी स्थायी घर भई विगत ४ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका सुशान्त सिग्देलको घटनास्थलमै मृत्यु भएको हो ।

उनले मोटरसाइकलको लाईसेन्स परीक्षाको लागि तैयारी गरिरहेका थिए । उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाईएको तास्मानिया प्रहरीले जनाएको छ ।

मृतक शसान्त मेलवर्नको फेडेरेसन विश्वविद्यालयमा अकाउन्टिङ विषय अध्ययनका लागि आएका थिए । उनी २०२२ मा मात्रै तास्मानिया बसाई सरेका थिए ।

एनआरएन तास्मानियाले उनको शव नेपाल पठाउने या अस्ट्रेलियामै अन्त्येष्टी गर्ने भन्ने विषयमा परिवारसगं छलफल गरिरहेको बताईएको छ । उनको अन्त्येष्टीका लागि सहयोग सकंलन अभियान समेत सुरु गरिएको छ ।

एनआरएन तास्मानियाले गोफण्डमि मार्फत सहयोग सकंलन अभियान थालेको हो । सहयोग गर्न यो लिकंमा क्लिक गर्नुहोस् ।