बर्न्टओक नेपाली समाजको आगामी ३ वर्षको नेतृत्व बिष्णु गुरुङले गर्ने

लण्डन । बर्न्टओक नेपाली समाजको आगामी ३ वर्षको नेतृत्व बिष्णु गुरुङले गर्ने भएका छन् । शनिवार जुममार्फत सम्पन्न भएको संस्थाको साधारणसभाले अध्यक्षमा गुरुङसहित वरिष्ठ उपाध्यक्षमा भोला पनेरु, उपाध्यक्षमा मंजु गुरुङ, महासचिव दिलमाया गुरुङ, कोषाध्यक्ष नवराज गुरुङ, सांस्कृतिक सचिव उमेश खड्का तथा खेलकुद सचिवमा दल गुरुङलाई चयन गरेको छ । सबै पदाधिकारीहरु निर्विरोध चयन भएका हुन्।

नवनिर्वाचित भइसकेपछि लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दे अध्यक्ष गुरुङले निवर्तमान कार्य समिति, निर्वाचन समिति लगायत समाजका सबै सदस्यहरुलाई धन्यवाद दिदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्र्न सबैलाई आग्रह गरे । सबै पक्षलाई समेटेर अघि बढ्ने भन्दै उनले समाजसेवाको यात्रामा सदैव कटिबद्ध रहने बताए । नयाँ कार्यसमिति चयन गर्न सुरेश गौतमको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो । समाजका तत्कालिन अध्यक्ष उदय गुरुङको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा तत्कालिन महासचिव भोला पनेरुले समाजमा यो बर्ष भएका गतिविधि, तत्कालिन कोषाध्यक्ष नवीन गुरुङले समाजको आयव्ययको विवरण प्रस्तुत गरेका थिए । आमा समूहकी उपाध्यक्ष दिलमाया गुरुङले समूहको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

साधारण सभाले उपाध्यक्ष पदमा यसपटकदेखि नयाँ व्यवस्था गरेको छ । अबदेखि कार्य समितिमा दुई उपाध्यक्ष हुने भएका छन्, जसमा साधारणसभाद्वारा निर्वाचित उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष तथा आमा समूहको अध्यक्ष स्वतः समाजको उपाध्यक्ष भएका छन् । कार्यभार हस्तान्तरण गर्दै तत्कालीन अध्यक्ष उदय गुरुङ्ले आफ्नो कार्यकालमा साथ र सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । साधारणसभामा बोल्दै समाजका पूर्व अध्यक्ष तथा बरो अफ बार्नेटका डेपुटी मेयर लक्ष्य गुरुङले कोरोनामहामारीको जटिल अवस्थामा संस्थाले गरेका सामाजिक सेवाका कामहरुको खुलेर प्रशंसा गरे ।

२००४ मा स्थापित संस्थाले समाजसेवालाई नै आफ्ने मूल मर्म ठानी अघि बढ्ेको छ । कार्यभार सम्हालेपछि गुरुङलाई बधाईको ओइरो लागेको छ । उनका सम्धि समेत रहेका तमुधि लण्डन इकाई पूर्वअध्यक्ष डेविड गुरुङले नवनिर्वाचित अध्यक्ष गुरुङलाई आफु र आफ्नो संस्थाको तर्फबाट बधाई दिदै शुभकामना समेत दिएका छन् ।