काँग्रेस महामन्त्रीमा गगन थापाको उम्मेद्वारी, अरु को–को छन् आकांक्षी ?

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन कुमार थापाले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच थापाले महामन्त्रीमा उठ्ने घोषणा गरेका हुन् ।

‘हामी १४ औं महाधिवेशनको प्रारम्भमा छौं,’ थापाले भने, ‘मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’

उनले महाधिवेशनको सम्मुखमै कित्ता फेर्दै संस्थापन इतर (रामचन्द्र पौडेल) पक्षमा लागेका छन् ।

को-को छन् आकांक्षी ?

यसपटक काँग्रेसको महाधिवेशनमा विभिन्न पदहरुमा धेरैको उम्मेद्वारी पर्ने देखिएको छ । महामन्त्री पदमा पनि आधा दर्जन बढी नेताहरुले इच्छा देखाएका छन् । यद्यपि थापाले बाहेक अरुले उम्मेद्वारी घोषणा भने गरिसकेका छैनन् ।

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहमा महामन्त्रीमा डा। प्रकाशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र विश्वप्रकाश शर्मा आकांक्षी हुन् ।

संस्थापन इतर समूहमा उम्मेदवारी घोषणा गरेका गगनसँगै डा। मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, गुरु घिमिरे, प्रदीप पौडेल, धनराज गुरुङ लगायतले इच्छा व्यक्त गरेका छन् । शुक्रवार देखि काँग्रेसको महाधिवेशनको प्रक्रिया शुरू हुँदैछ ।