तक्दीर अधिकारी
सिड्नी । साउथवेस्ट नेप्लिज कम्युनिटी सिड्नीले कोभिड १९ महामारीले पारेको असर, यसको क्षतिको परिपूर्ति, राहत लगायतको विषयमा यहाँका स्थानीय सांसद र मेयरसँग अन्तरक्रिया गरेको छ ।
संस्थाका अध्यक्ष देवेन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तरक्रियामा स्थानीय सांसद पिटर सिजग्रेभ्स र क्याबेलटाउनका मेयर जर्ज व्रिटीसिविकको विशेष उपस्थिती रहेको थियो ।
अष्ट्रेलियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको उक्त कार्यक्रममा अष्ट्रेलियामा कोभिडले पारेको क्षति, यसको नियन्त्रणको निम्ती सरकार र सामुदायिक संघसंस्थाहरुले गरेको काम तथा आगामी दिनमा गर्ने तयारीको विषयमा अन्तरक्रिया भएको हो ।
कोभिड १९ इन्फरमेशन सेसन नाम दिइएको उक्त कार्यक्रममा सरकार तथा अष्ट्रेलियामा रहेका नेपालीसहित विभिन्न समुदायका पदाधिकारी गरी करिब ५० जना सहभागि रहेको अध्यक्ष सापकोटाले बताए ।
जुम प्रविधि मार्फत आयोजित उक्त अवसरमा एनएसडब्लु महावाणिज्य दूत दिपक खड्का, एनआरएनए आईसीसी उपाध्यक्ष मन केसी, न्यू साउथ वेल्स संयोजक देव गुरुङ, एसडब्लु नेपाली समाजका अध्यक्ष एकराज खनाल, इडिबी नेपाली समाजका अध्यक्ष एशोदा श्रेष्ठ, एनआरएनए नारी निकुन्ज संयोजक सन्ध्या शाह, क्याथरिन फिल्ड नेपाली समाजका अध्यक्ष दामोदर अधिकारी, साउथर्न नेपाली समाजका अध्यक्ष सन्तोष बडाल, लुमिया नेपाली समाजका अध्यक्ष प्रकाश हुमागाईँ, अेरनपार्क नेपाली समाजका अध्यक्ष दिनु कोइराला, फेन्का प्रतिनिधि विष्णु हमाल सहभागि थिए ।
कार्यक्रममा स्थानीय सरकारले कोभिडले असर गरेका यहाँ सञ्चालित साना व्यवसाय, ति व्यवसायहरुको सुरक्षा, लगानी आदिको बारेमा स्थानीय सरकारसामू प्रश्नोत्तर भएको थियो । जवाफमा मेयर तथा सांसदले व्यवसायको सुरक्षा, कोभिड नियन्त्रण राहत लगायतका विषयमा आफूहरुले कार्यक्रमहरु ल्याइरहेको भन्दै ती कार्यक्रम पूरा गर्न स्थानीय संघसंस्थाहरुसँग समन्वय गरिरहेको बताएका थिए ।
उक्त अवसरमा संस्थाले कोभिडको समयमा राहत वितरण, सहयोग, आइसोलेसनमा बसेकाहरुलाई सहयोग, भाषाको समस्या भएका नेपाली ज्येष्ठ नागरिकहरुलाई पूर्याइएको सहायताको विषयमा जानकारी दिइएको थियो ।
क्याबल टाउनमा धेरै असर परेको भन्दै ती असर न्यूनिकरण गर्न तथा राहत कार्यक्रममा यहाँ रहेका नेपाली समुदायले राम्रो साथ दिएको भन्दै सरकारले संस्थाको प्रशंसा गरेका थिए ।उनले कोभिडले पुर्याएको क्षती न्यूनिकरणको निम्ती सरकारले भरपूर सहयोग गर्ने र सोही अनुसारका प्याकेजहरु दिइने बताए ।समुदाय मार्फत यहाँ रहेका समस्यामा परेका मानिसहरुलाई सहयोग गर्न तयार रहेको भन्दै उनले त्यसको सहजीकरणमा साथ दिन आग्रह गरेका थिए ।
अध्यक्ष सापकोटाले स्थानीय सरकारले गरिरहेका काम र स्थानीय सरकारको लागि आफूहरुले गर्न सक्ने सहयोगको विषयमा अन्तरक्रिर्या भएको बताए ।संस्थालाई सरकारको तर्फबाट अनुदान समेत प्राप्त भएको भन्दै अध्यक्ष सापकोटाले सचेतना मुलक कार्यक्रमहरु गरिने बताए ।
महासचिव प्रेम शाहले महामारीले पारेको प्रभाव, यसको क्षति न्यूनिकरणको निम्ती सरकारले गरेको सहयोग आगामी दिनमा पनि रहने प्रतिबद्धता रहेको जानकारी दिए ।प्रवक्ता सूर्य खनालको स्वागत रहेको कार्यक्रममा संस्थाका कार्यकारी सदस्य भूपाल सिटौलाले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन महासचिव प्रेम शाहले गरेका थिए ।






