नारायण गाउले
आज विश्वकै सबल र उदाहरणीय प्रजातन्त्र भएको मुलुक बेलायतको आमचुनाब !
करिब ६ करोड़ पचास लाख जनसंख्या र ४ वटा देशको संयुक्त राज्यका रूपमा रहेको बेलायतको इंगल्याण्ड मा ५३३ स्कटल्याण्डमा ५९ वेल्समा ४० र नर्दन आयरल्यान्डमा १८ गरी कुल ६५० संसदीय सिटमा आज दिनभर मतदान हुनेछ । सयौं वर्ष लामो संसदीय इतिहास र ठूलो जनसंख्या भए पनि नेपालमा भन्दा अतुलनीय रूपमा थोरै राजनैतिक दलहरु, नगण्य भ्रातृसंगठन र पारदर्शी प्रक्रियाले गर्दा यो निर्वाचन ख़ास हुनेगर्छ ।
…
मलाई छोएका केही पक्षहरू :
1- बेलुकी 10 बजेसम्म भोटिंग बुथ खुल्ने, सार्वजनिक बिदा नहुने र कुनै भित्तेलेखन र ठूला आमसभासमेत नहुने भएकाले धेरैलाई आज चुनाब हो भन्नेसम्म घरिघरि याद हुँदैन । विद्यार्थीहरू स्कुलकलेजमै हुने भएकाले हूलदंगा हुने कुरो भएन ।
2- सबै पार्टीका शीर्ष नेताहरूले टिभीमा आयोजना हुने लामा बहसमा भाग लिए र आफ्ना एजेन्डा स्पष्ट राखे । तिनले अर्थव्यवस्था देखि सामाजिक र अंतर्राष्ट्रिय सम्बन्धसम्मका सबै राजनीतिक क्षेत्रमा गहिरो अध्ययन गरेको पाइयो । तिनले आफ्नो सम्भावित सरकारको सबै योजना छर्लङ्ग पारे र मतदातालाई मुद्दाको आधारमा मत दिन सजिलो पारे । बहसमा तर्क थियो, तथ्याङ्क थियो र आगामी सरकारको स्पष्ट कार्यदिशा थियो । त्यहाँ हाम्रोजस्तो मुर्दाबाद र जिन्दाबाद थिएन । न हामीले भारतको विरोध गरेर देखाउने खोक्रो राष्ट्रियता थियो ।
3-मतपत्रमा नामको अगाडि × चिन्ह लगाउन भनिए पनि मतदाताले √, थोप्लो या स्माइली बनाएपनि मतपत्र रद्द नहुने रहेछ । मतदाताको आशय खुले पुग्ने रहेछ ।
4-घरको ढोकाबाट छिराइएका केही पर्चाबाहेक सड़क, स्कुल र पार्क कतै पनि ब्यानर, तूल र झंडाहरू देखिएनन् । न कुनै विशाल र्याली, न आमसभा न कुनै तोड़फोड़ भए । प्रधानमन्त्रीका उम्मेद्वारले हाते माइक बोकेर पार्कको कुनामा 20-30 जना स्वयंसेवकलाई सम्बोधन गर्नु नै यहाँको सभा हुँदोरहेछ ।
5-सबै शीर्ष नेताहरू हाम्रा सुशील कोइरालाका नाति अनि प्रचण्ड र माधव नेपालका छोराजस्ता देखिए ।
6-एकपटक प्रधानमन्त्री या पार्टीप्रमुख भई सकेपछि ती रिटायर्ड हुँदा रहेछन् । न कहिल्यै ती सक्रिय राजनीति गर्छन् न खुट्टा तान्छन् । हाम्रा नेताजस्ता पदमा र्याल काढेर नबस्ने रहेछन् । यहाँसम्म कि ती टिभीको अन्तर्वार्तामा समेत कमै देखिने रहेछन् ।
अन्त्यमा हामीमा जस्तो राजनैतिक आस्थाका आधारमा पानी बाराबार नहुनु र हार्ने दलले ‘बाइक’को हावा खुस्काएर हराइएको आरोप नलगाउनु पनि यसको विशेषतै रहेछ ।
हामीले यो कहिले सिकौंला र ? अरु त अरु, यही देशमा हुने हाम्रा एनआरएनदेखि राजनैतिक संगठनले कम्तीमा केही सिकिदिए पनि पुग्थ्यो । विश्वकै सबैभन्दा ख़राब निर्वाचन तिनकै हुने गर्छ !







![37703_1235442344547_1818963_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/37703_1235442344547_1818963_n1.jpg)
![_75028934_663871e5-83f6-4dd0-b477-d9e89e57e3ca[2]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/75028934_663871e5-83f6-4dd0-b477-d9e89e57e3ca2.jpg)