रातभरिको बर्षापछि काठमाडौंका विभिन्न स्थान डुबानमा

काठमाडौं- बागमती नदीमा आएको बाढीका कारण काठमाडौंको तीनकुनेस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ ।

मंगलबार राति आएको भीषण वर्षाका कारण आएको बाढीले बागमती नदी किनारमा रहेका ३३० घर डुबानमा पारेको हो ।

घर तथा टहरामा चार पाँच फिटसम्म पानी जमेको बानेश्वर प्रहरी वृत्तले जानकारी दिएको छ ।

स्थानीयका अनुसार, रातिको बर्षासँगै बागमतीमा ठूलो बाढी आएको थियो । अहिले बाढीको सतह घट्दै गएको छ ।

यसैबीच, अनामनगर र आसपासको क्षेत्र धोवीखोलाको बाढीले डुबानमा परेको छ। त्यस क्षेत्रका सयौं घर डुबानमा परेका छन् । दर्जनौ घरपरिवार विस्तापित भएका छन् । केही पसल समेत डुबानमा परेकाले लाखौं क्षति भएको व्यवसायीले बताएका छन् ।

खोलामा फोहोर फाल्ने, खोलामा जम्मा भएको फोहोर सफा नगर्ने कारण हरेक बर्ष धोवीखोलाको बाढीले आसपासको बस्ती डुबानमा पर्ने गर्छ ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिका १३ नयाँबस्ती दोभानस्थित चियाने खोलामा रहेको कच्ची पुल आसपासको सुकुम्बासी बस्ती समेत डुबानमा परेको छ। २०÷२५ घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।

गौशालामा रहेको गंगाहिटी तरकारी बजार पनि डुबानमा परेको प्रहरीले जानकारी दिएको छ ।

बाढीबाट सिनामंगलमा रहेको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ । कालोपुल आसपासको क्षेत्र र गुहेश्वरी क्षेत्र समेत डुबानमा परेको प्रहरीले जनाएको छ ।