लण्डन । भिसा समस्याको कारण नेपाली क्रिकेटर सन्दीप लामिछानेले बेलायतमा आयोजित द हन्ड्रेड खेल गुमाएका छन् ।
राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर रहेका लामिछानेले भिसाको समस्याको कारण आफूले यूके पुगेपनि खेल गुमाएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
इंगल्यान्ड क्रिकेट बोर्ड ईसीबीकै सल्लाहअनुसार टायर ५ भिषाको लागि निवेदन दिएको भएपनि अहिले एक्कासी भिसा अवैध रहेको भन्दै देश छोड्न भनिएको भन्दै निराशा व्यक्त गरेका छन् ।
‘मैले ईसीबीकै निर्देशनअनुसार टायर ५ भिषाको लागि निवेदन दिएको हुँ। त्यसबेला भाइटालिटी ब्लास्ट र द हन्ड्रेड प्रतियोगिताको लागि यस भिषाले काम गर्ने बताइएको थियो।’ उनले भनेका छन् ।
इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए। प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ।
प्रतियोगिताका लागि सन्दीपले झण्डै ६० हजार पाउण्ड अर्थात १ करोड नेपाली रुपैयाँमा अनुबन्ध भएका थिए।
उनी जुलाई ९ मा बेलायत आएका थिए । तर खेल्न नपाएपछि उनी नेपाल फर्कन थालेका छन् ।
यसअघि गत जेठ चौथो साता पनि सन्दीपले भिसाकै कारण इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले गरेको टी २० ब्लास्ट प्रतियोगिता गुमाएका थिए।






