काठमाडौं, २२ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अषोषित नाकाबन्दीलाई अन्त्य गर्नका लागि त्यही प्रकारको पहल थाल्न सरकारलाई सुझाव दिएको छ ।
व्यवस्थापिका संसदको आज (आइतबार)को बैठकमा बोल्दै कांग्रेसका कार्यबाहक सभापतिसमेत रहनुभएका सांसद रामचन्द्र पौडेलले नाकाबन्दी अन्त्य गर्न र जनतालाई राहत दिन सरकारले गम्भीर भइ ध्यान दिनुपर्ने बताउनुभयो ।
‘अघोषित नाकाबन्दी भएको छ । त्यसलाई समाधान गर्न त्यहीअनुसारको प्रक्रिया अपनाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘हामी राष्ट्रिय जिम्मेवारीको बहन गर्छौ । समधान राष्ट्रलाई चाहिएको छ ।’
कांग्रेसका कार्यबाहक सभापति पौडेलले आरोप प्रत्यारोमा मात्रै लागेर गएमा जनताले चाहेको कुरा पूरा नहुने उल्लेख गर्नुभयो ।
मुलुकमा देखिएको राजनीतिक परिस्थितिलाई समाधान गर्नुका साटो सरकारमा बसेकाहरूले अन्टसन्ट कुरा बोलेर परिस्थिति बिगार्न खोजेको उहाँले बताउनुभयो । ‘राजनीतिक परिस्थितिलाई अन्टसन्ट बोलेर परिवेश बिगार्न खोजिएको छ’, पौडेलले भन्नुभयो, ‘राजनीतिक मागको विषय संसदबाटै राजनीतिक रुपबाट समाधान खाजौँ ।’
उहाँले उठेका विषयलाई अतिरञ्जीत नगर्न आग्रह गर्नुभयो । ‘अतिरञ्जीत रुपमा कुराहरू गर्दा त्यसले समस्या बल्झाउँछ’, उहाँले भन्नुभयो, ‘त्यसलाई उल्झाउनेतर्फ कोही जानु हुँदैन ।’
कांग्रेस नेतृत्वको सरकारका बेला भूकम्प र तराईको समस्या समधान गर्न पेश गरेका दुई विधेयक दर्ता भएको भन्दै कार्यबाहक सभापति पौडेलले भन्नुभयो, ‘हामीले हिमाल र तपाईको माग सम्बोधन गर्ने दुई वटा विधेयक दर्ता गराएका थियौँ । अहिलेको सरकारले ती दुई विधेयकलाई ल्याउनु पर्छ ।’
भूकम्पसम्बन्धी पुनःनिर्माण र मधेसको मागलाई लिएर दर्ता भएका विधेयकका विषयमा सत्तापक्ष किन चुपलागेर बसेको छ भन्दै पौडेलले प्रश्न गर्नुभएको थियो ।
त्यसै गरी कांग्रेस कार्यबाहक सभापति पौडेलले सरकारले सदनलाई छिटो अन्त्य गर्ने तयारीमा लागेको भन्दै विरोध गर्नुभयो । उहाँले सदन अन्त्य गरेर सरकार भाग्न खोजेको आरोप लगाउनुभयो ।
अहिलेका प्रधानमन्त्री एउटा पार्टीको मात्रै प्रधानमन्त्री बन्न खोजेको भन्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र राष्ट्रपति सबैको बन्नुपर्छ । एउटा पार्टीको मात्रै हुनुहुँदैन । प्रतिस्पर्धाका बेलाको कुरालाई त्यही बेला नै अन्त्य गरेर सबैको प्रधानमन्त्री बन्नसक्नुपर्छ ।’
यसैबीच, कांग्रेस उपसभापति पौडेलले प्रधानमन्त्री केपी ओलीले अघिल्लो प्रधानमन्त्री सुशील कोइरालाको पालामा बालुवाटारबाट पैसा बाँडिएको हल्काफुल कुरा गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले बालुवाटारबाट पैसा बाँडिएको हो भने त्यसको अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अघिल्लो प्रधानमन्त्रीका पालामा बालुवाटारबाट पैसा वितरण भएको कुरा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको टोलीलाई जानकारी गराउनु भएको थियो । सो समाचार आजका पत्रपत्रिकाले छापेपछि कांग्रेसले आक्रोश जनाउँदै छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो ।
कांग्रेसले आफूलाई प्रधानमन्त्री ओलीले लगाएको आरोप गम्भीर प्रकृतिको रहेको भन्दै पौडेलले भन्नुभयो, ‘पैसा बाँडिएको हो भने दोषिलाई कारबाही गर्नुपर्छ । होइन भने जथाभावी बोल्नेलाई कारबाही गर्नुपर्छ ।’







