पत्रकार महासंघ यूकेबाट महामारीपीडित पत्रकारलाई ५ लाख सहयोग

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले कोरोना महामारीका कारण प्रभावित बनेका नेपालका २५ जना पत्रकारहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।

२५ पत्रकारलाई राहत दिने उद्धेश्यको साथ महासंघ यूके शाखाले ५ लाख १६ हजार रुपैयाँ महासंघ केन्द्रको खातामा पठाएको हो ।

पत्रकारहरुको सहयोगार्थ बेलायतमा जुटाइएको ३१ सय ९९ सय पाउन्ड गरी आईएमई लन्डनको अफरसहित नेपाली ५ लाख १६ हजार रुपैया मंगलबार महासंघ केन्द्रलाई पठाइएको कोषाध्यक्ष सविन्द्रकुमार गुरुङले जनाए ।

संकलित रकमबाट महामारीका कारण विभिन्न समस्यामा परेका देशभरका २५ जना पत्रकारलाई २० हजारका दरले ‘लेखनवृत्ति’ प्रदान गरिनेछ । सहयोगको आवश्यकतामा रहेका पत्रकारहरुलाई महासंघ केन्द्रको सिफारिशका आधारमा सहयोग बाँडिनेछ । महासंघको काठमाडौंस्थित कार्यालयमा चाँडै एक समारोह आयोजना गरी सहयोग हस्तान्तरण गरिने पत्रकार महासंघ यूके महासचिव नरेन्द्र बस्नेतले बताए ।

जुन १३ मा यूके शाखाको नयाँ नेतृत्व निर्वाचन मार्फत चयन गरिएको थियो । कार्यभार सम्हालेपछि शाखाले नेपालमा कोभिड प्रभावित परिवारलाई सहयोग गर्ने निर्णय गरेको थियो । सोही आधारमा उक्त रकम पठाइएको उनले बताए ।

सहयोग संकलनको संयोजन शाखाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई र कार्यसमिति सदस्य गोमा रानाले गरेका थिए । नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालले महामारीका बेला अफ्ठेरोमा परेका सहकर्मीहरुको हौसला बढाउने उद्धेश्यले सहयोग पठाइएको भन्दै यस अभियानमा साथ दिने सबैलाई आभार व्यक्त गरे ।

उनले पत्रकारको हकहितको निम्ती महासंघ स्थापना भएको भन्दै बेलायत शाखाले मन लगाएर पत्रकारको उत्थानको निम्ती काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।