लन्डन — पिटरबरो नेपाली समाजले बेलायतको मिडल्याण्ड क्षेत्रमा सक्रिय नेपाली संघ–संस्थाहरूबीच तेस्रो संस्करणको ब्याडमिन्टन प्रतियोगिता–२०२६ सफलतापूर्वक सम्पन्न गरेको छ।
प्रतियोगितामा नेपाली समाज नटिङ्घम, गोर्खा टाइगर लेस्टर, शान्ति नेपाली समाज बर्मिङ्घम, गल्कोट समाज यूके तथा आयोजक पिटरबरो नेपाली समाज गरी पाँच संस्थाबाट १३ पुरुष टोली र ४ महिला टोलीसहित कुल १७ टोली सहभागी भएका थिए।
प्रतिस्पर्धालाई गोलाप्रथाबाट पुरुषतर्फ चार समूह र महिलातर्फ दुई समूहमा विभाजन गरी ‘लिग’ तथा ‘नक–आउट’ चरणमा सञ्चालन गरिएको थियो। लिग चरणका खेलहरू १५ अंकसम्म तथा नक–आउट चरणका खेलहरू २१ अंकसम्म तीन सेटमा २ अंकको अन्तरले जित्ने नियमअनुसार खेलाइएका थिए।
पिटरबरोको मध्यभागमा अवस्थित एक विद्यालयको खेलकुद हलमा २० जुन २०२६ मा बिहान १० बजेदेखि सुरु भएको प्रतियोगिता दिउँसो ३:१५ बजे सम्पन्न भएको थियो।
पुरुषतर्फको प्रतिस्पर्धामा पिटरबरो नेपाली समाजका पुष्प उप्रेती र दल थापाको टोलीले गोर्खा टाइगर लेस्टरका प्रविन तामाङ र अमृत पाटामगरको टोलीलाई सोझो दुई सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गर्यो। शान्ति नेपाली समाजका पदम शाही र साजन डंगोल समय अभावका कारण तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न नसक्दा लेस्टर टाइगरका गौरव गैरे र रोहित मगर स्वतः तेस्रो घोषित भए।
महिलातर्फ इन्द्र दुरा र बबिता सापकोटाको टोलीले वर्षा उप्रेती र लक्ष्मी थापालाई सोझो दुई सेटमा पराजित गर्दै प्रथम स्थान हात पार्यो। तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मेघा पौड्याल र राधा लुइँटेल भण्डारीले मनु थापामगर र सृष्टि सापकोटाको टोलीलाई पछि पार्दै तेस्रो स्थान सुरक्षित गरे।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीहरूलाई क्रमशः स्वर्ण, रजत र कास्य पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार वितरण पिटरबरो नेपाली समाजका अध्यक्ष विष्णु थापा र ट्रस्टी संयोजक केशव खतिवडाले संयुक्त रूपमा गर्नुभएको थियो।
साथै, प्रत्येक आइतबार सञ्चालन हुने नियमित ब्याडमिन्टन तालिममा उत्कृष्ट सहभागिता जनाउँदै खेल क्षमता अभिवृद्धि गर्ने सदस्यहरू वर्षा उप्रेती, बबिता सापकोटा र महेश अधिकारीलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रमका क्रममा खेलाडी तथा दर्शकहरूका लागि चियापान, फलफूल तथा स्वादिष्ट भोजनको व्यवस्था गरिएको थियो। नेशनल लोटो फण्ड अन्तर्गत “कम्युनिटी एण्ड वेलबिइङ” शीर्षकमा प्राप्त सहयोगबाट प्रायोजित कार्यक्रम राजु सापकोटाले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमको समापनमा आयोजक संस्थाका अध्यक्ष तथा ट्रस्टी संयोजकले यस्ता प्रतियोगिताले नेपाली समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र अन्तरघुलनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण सहभागी खेलाडी तथा सहयोगीप्रति आभार प्रकट गर्नुभयो।







