कोइरालाको निधनमा कसले के भने ?

sushil koirala7काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा देशले सिङ्गो अभिभावक गुमाएको नेताहरुले बताउनुभएको छ ।

कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन आज दशरथ रङ्गशाला पुगेका नेताले कोइरालाको आज भएको निधनमा नेपालले कुशल अभिभावक गुमाएको बताउनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान निर्माणमा स्वर्गीय कोइरालाको नेतृत्वदायी भूमिका रहेको भन्दै उहाँ देशलाई समस्या परेको बेला कडा अडान राख्ने व्यक्ति भएको बताउनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले स्व कोइरालाले संविधान निर्माणमा खेलेको भूमिकालाई कसैले भुल्न नहुने बताउनुभयो । नेत्री कोइरालाले स्वर्गीय कोइराला हुँदा आफूलाई लागेको असन्तुष्टि सजिलै भन्न सकिने र उहाँले त्यसलाई सजिलै हल गर्ने गरेको स्पष्ट पार्नुभयो ।

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले ठूलो मानिस शालीन जीवन भएको व्यक्ति कोइराला भएको बताउनुभयो । रिजालले कोइराला केटाकेटीदेखिनै काँग्रेसको राजनीतिमा लाग्नुभएको र बिपी कोइराला तथा गिरिजाप्रसाद कोइराला जेलमा रहेका बेला उहाँको परिवारको अभिभावकको रुपमा रहेको पनि उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद रामचन्द्र पोखरेलले सादा जीवन उच्च विचार भएको व्यक्ति स्वर्गीय कोइराला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोइरालाको सादगीयुक्त जीवनबाट अहिलेका राजनीतिक दलका नेताले पाठ सिक्नुपर्दछ ।”

नेपाली काँग्रेस कैलालीका नेता नारायणदत्त मिश्रले नेपाली जनताको छ दशक लामो संविधानसभाबाट संविधान बनाउने चाहना कोइरालाले पूरा गर्नुभएको उल्लेख गर्नुभयो ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले स्वर्गीय कोइराला कहिल्यै नथाक्ने र सादगी व्यक्ति भएको बताउनुभयो । उहाँले कोइरालाको निधनले सारा देश शोकाकुल रहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले कोइराला सरल र असल व्यक्ति भएको बताउनुभयो । लोहनीले स्वर्गीय कोइरालामा सबै पार्टीका नेतालाई मिलाएर लैजाने क्षमता भएको पनि उल्लेख गर्नुभयो ।