१० महिनाकी बालिकाको जीवन रक्षा गर्न विनर सर्कलले उठायो ५ लाख रुपैया

तक्दीर अधिकारी

सिड्नी – विनर सर्कल मिडियाले तीन हप्ता सम्म सञ्चालन गरेको रन फर सियोना अभियान अन्तर्गत तीन हप्ते अभियान सम्पन्न गरिएको छ । स्पिनल मस्कुलर अट्रोफी नामक रोगबाट ग्रस्त नवलपरासीको रामग्राम २ घर भएका सन्दीप श्रेष्ठकी १० महिनाकी छोरी सियोना श्रेष्ठकोे उपचारको निम्ती आर्थिक सहयोग जुटाउने गरी सर्कल मिडियाले रन फर सियोना अभियान चलाएको थियो । जसमा एक हप्ता अघि मिडियाका सदस्य समिर अर्याल ९ घण्टा सम्म ५७ किलोमिटर दौडिएका थिए । त्यस पछि एक हप्ता सम्म रकम संकलन गरिएको थियो । यस अवधिमा ६ हजार ६८.९५ अस्ट्रेलियन डलर अर्थात ५ लाख बराबर नेपाली रुपैया संकलन भएको र उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको मिडियाका प्रशासकिय अधिकृत रोशन खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार उक्त रकम न्यू साउथ वेल्सका लागि अवैतनिक महावाणिज्य दूत दिपक खड्काले मिडिायका सदस्य तथा अभियानमा दौडिएका समिर अर्याललाई हस्तान्तरण गरे भने उक्त रकम नेपालमा रहेका परिवारका सदस्यलाई पठाइनेछ। यो सँगै संस्थाले शुरु गरेको अर्थ संकलन अभियान सम्पन्न भएको र सहयोग गर्न चाहनेहरुले संस्थाको खातामा रकम जम्मा नगरी परिवारकै खातामा रकम जम्मा गरिदिन उनले आग्रह गरे । ‘रन फर सियोना’ नाम दिइएको उक्त अभियानमा सियोनाको उपचारको निम्ती अर्थ संकलन गर्ने ध्येयका साथ समिर सिड्नी को अवर्न – बोन्डाइ किनार – अवर्न सम्म ९ घण्टा दौडिएर आर्थिक सहयोगको अपिल गरेका थिए । उक्त दौड अवधि सम्म ५ हजार डलर संकलन भएको थियो । त्यसैगरी संस्थाले चालेको यअभियानमा साथ दिदै तास्मानियामा रहेका विशाल पाण्डेयले प्रदान गरेका पेन्टिङ्ग र दौडिएका समिरले लगाएको टिसर्ट दुवैलाइ लिलामी गरेर पनि रकम संकलन गरिएको छ ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस टिचिङ्ग हस्पिटलमा जचाउन लगेको समय उनलाइ उक्त समस्या रहेको पुष्टि भएको थियो । अमेरिकामा मात्रै उपचार सम्भव रहेको उक्त रोगको उपचारकोे निम्ती २१ लाख अमेरिकी डलरको खाँचो पर्दछ । त्यसको नेपाली रकम २४ करोड ६९ लाख भन्दा बढी हुन्छ । यति ठुलो मात्रामा खर्च लाग्ने भएको कारण परिवारको आर्थिक स्थितीले थेग्न नसक्दा यतिवेला विश्वभर रकम संकलन अभियान जारी छ । उनको दुइ बर्ष भित्र उपचार गरिसक्नुपर्ने र एक बर्षभित्रमा उपचार शुरु गरिसक्नु पर्ने हुन्छ । सियोनाको उपचारको निम्ती सहयोग गर्न चाहनेहरुको निम्न खाता नम्बरमा रकम जम्मा गरिदिन सक्नुहुनेछ ।