कल्पना त्रिपाठी
हिजोआज तिम्रा ओठले, नया भाका गाउछौ अरे !
बदलामा तिम्रो गीतको, मीठो मुस्कान पाउँछौ अरे !!
कोरिबाटी आफ्नै हातले, सोह्र श्रृङ्गार गराई !
देउरालीको फूल टिपी, अर्कैलाई लाउँछौ अरे !!
एकान्तमा भञ्जयाङ्ग पाखा, डुल्दै हात समाउछौ अरे !
शिशिर वसन्त मात्र हैन, ग्रिष्ममा रमाउँछौ अरे !!
हिँड्दा उनलाई ठेस लागे, पिडा हुने तिमीलाई !
काँडा बिझे पाउमा उनको, आफ्नो मुटु कमाउँछौ अरे !!
बारी बाँझो भए उनको, हल गोरु दाउँछौ अरे !
नया लुगा फेर्न उनलाई, आफू थोत्रै लाउँछौ अरे !!
बिना दीप अँध्यारोमा, उनैलाई भेट्न !
झरी बर्षा नभनेर, उतै तिर धाउँछौ अरे !!
चुलो चौका पँधेरीको, बेलीबिस्तार सुन्छौ अरे !
बनावटी दुःख पोख्दा, आफू पनि रुन्छौ अरे !!
अजम्बरी माया भनी, वाचा गर्थ्यौ मलाई,
उनैसँग जूनी काट्ने, मीठा सपना बुन्छौ अरे !!
समाजसेवी तथा सामाजिक अभियन्ता कल्पना त्रिपाठी गैर आवासीय नेपाली संघ बेलायतको सल्लाहकार -तथा डाइरेक्टर – अक्स् ब्रिज इन्टरनेशनल कलेज नेपाल र लण्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितीमा पूर्व-महासचिव समेत हुन् ।






