अर्थमन्त्री खतिवडाको पद खुस्किने निश्चित, को होला अबको अर्थमन्त्री ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारको तर्फबाट मनोनयन हुने राष्ट्रियसभाको रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई मनोनयन गर्ने निर्णय गरेसँगै अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाको मन्त्रीयात्रा टुँगिने निश्चित भएको छ । मन्त्रीपरिषदको बैठकले अ बगौतमलाइ राष्ट्रिय सभामा मनोनित गर्ने तयारी छ । हाल मन्त्रीपरिषदको बैठक जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक चाहना र पार्टीको संस्थागत निर्णयबीचको टसलमा अल्झिएको यो सिट विवाद अन्त्यसँगै राष्ट्रियसभाले पूर्णतासमेत पाएको छ । नेकपा नेता बामदेव गौतमकै कारण पार्टी भित्र झगडा मौलाएको थियो , अब यसकै कारण पनि विवाद साम्य हुन सक्ने केही नेताहरुले बताएका छन् ।
राष्ट्रियसभाको रिक्त एक सिटको मनोनयन नेकपाको लागि गाह्रो विषय नहुनुपर्ने हो । दुवै संसदमा एकल बहुमत र सो सभामा दुईतिहाई हैसियत रहेको अवस्थामा त झन् यो एकसिट कुनै चर्चाको विषय नै नबन्नु पर्ने हो । तर, यही एक सिटका लागि नेपाली राजनीति पटक–पटक तरंगित भयो । चुनाव हारेपछि संघीय संसद छिर्ने १८ औँ प्रयासमा पार्टी उपाध्यक्ष वामदेव गौतमले सफलता प्राप्त गरे । गौतमले जित्दा प्रधानमन्त्रीको ‘जित वा हार’को रुपमा चर्चा गरिएको यो खेलमा अन्ततः प्रधानमन्त्री ओली ‘हारेका’ छन् । राष्ट्रियसभामा मनोनयन नहुने निश्चित भएपछि खतिवडाको कार्यकाल शनिबारदेखि सकिँदैछ ।
अहिले मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओलीको प्रमुख विश्वासपात्रको रुपमा रहेका खतिवडा नै छन् । उनकै चाहनामा खतिवडालाई राष्ट्रियसभा हुँदै अर्थमन्त्री बनाइएको थियो । लामो योगदान र संघर्ष गरेका व्यक्तिहरु पार्टीमा हुँदाहुँदै खतिवडालाई अर्थमन्त्री बनाउँदा पार्टीभित्र ओलीको विरोध नभएको होइन । तर ओलीले आलोचना सहेरै उनलाई साथ दिइरहे । तर, आफैंले तानेको चिट्ठाले अढाई वर्षमै मन्त्रालयबाट बिदा हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । तर, करिब अढाइ वर्ष मन्त्रालयमा रहँदा खतिवडा धेरै आलोचना र थोरै मात्रै प्रशंसाका पात्र बने ।
विज्ञ अर्थमन्त्रीको रुपमा ल्याइएका खतिवडा सुरुमा जति लोकप्रिय थिए, उनको लोकप्रियता धेरै टिकेन । अर्थमन्त्री भएलगत्तै बीबीसीलाई दिएको पहिलो अन्तर्वार्तामा शेयर बजार, रियलस्टेट क्षेत्र लगायत केही क्षेत्रलाई अनुत्पादक भनेपछि उनको विरोध सुरु भएको थियो । खासगरी शेयर बजारका लगानीकर्ताहरुले यसको विरोध सुरु गरेका थिए । उनको यही भनाइका कारण बजार डेढ सय अंकभन्दा तल झरेको थियो । पछि बजार सुधारका लागि दर्जनौँ प्रयास गर्दा पनि लगानीकर्ताको कन्फिडेन्समा सुधार हुन सकेको थिएन ।
दोहारो करको झन्झटबाट समेत व्यवसायीहरु आक्रान्त हुनुपर्यो । जहाँ गयो त्यहीँ आलोचना गर्दै हिँड्ने उनको बानीले निरन्तरता पाउँदै गर्दा उनको नीतिप्रति व्यवसायीहरु सकारात्मक हुनै नसक्ने अवस्था सिर्जना हुन थाल्यो । तर, बलियो सरकार र प्रतिशोध साँध्ने स्वभावका कारण उनीप्रति खुलेर विरोध गर्ने आँट भने व्यवसायीहरुले गरेनन् ।
खतिवडाको आलोचना शृङ्खलाको दोस्रो चरणमा विपक्षी दल र सोनिकटका अर्थशास्त्रीहरु देखिए । प्रधनमन्त्री निर्वाचित भइसकेपछि पनि केही समय ओलीले विपक्षी दलप्रति निकै तिखो आलोचना गर्दै गएका थिए । त्यसैलाई सहयोग हुनेगरी पूर्ववर्ती सरकारको कामलाई गलत देखाउन खतिवडाले स्वेतपत्र जारी गरे । सो स्वेतपत्रमा खतिवडाले अर्थतन्त्रको भयावह चित्र प्रस्तुत गरेका थिए, जुन वास्तविक नरहेको बताइन्छ । यो घटनापछि विपक्षी दल उनीप्रति सकारात्मक भएन । ओली र देउवाबीच सम्बन्ध सुधार भयो, एक अर्कालाई हेर्ने नजर परिवर्तन भयो, तर खतिवडाप्रति भएन ।
खतिवडाको त्यो शृङ्खलामा बजेटले फेरि निरन्तरता दियो । सुशासनको जग बसाल्ने भन्दै करको दर र दायरामा निकै कसिलो नीति बजेटमाफत् लिइयो । यसले गर्दा उद्योगी व्यवसायीहरु सरकारप्रति निराश भए । त्यसो त, त्योबेलासम्म संविधानले व्याख्या गरेको संघीय अधिकार र नयाँ शासकीय स्वरुपअनुसारका कानूनहरु बनेकै थिएनन् । खतिवडाले थोपरेको कानूनी व्यवस्थाबिनाको कर नीतिले व्यवसायी र आम सर्वसाधारणहरुमा आर्थिक भार मात्रै थोपरेन, प्रक्रियागत झन्झट र अन्यौलताको सिर्जना समेत गरिदियो ।
दोहारो करको झन्झटबाट समेत व्यवसायीहरु आक्रान्त हुनुपर्यो । जहाँ गयो त्यहीँ आलोचना गर्दै हिँड्ने उनको बानीले निरन्तरता पाउँदै गर्दा उनको नीतिप्रति व्यवसायीहरु सकारात्मक हुनै नसक्ने अवस्था सिर्जना हुन थाल्यो । तर, बलियो सरकार र प्रतिशोध साँध्ने स्वभावका कारण उनीप्रति खुलेर विरोध गर्ने आँट भने व्यवसायीहरुले गरेनन् ।

अबको अर्थमन्त्री को ?
अबको अर्थमन्त्री को बन्ला भन्ने विषयमा सबैतिर चासो छ । नेकपाका सचिब बिष्णु पौडेललाइ अर्थमन्त्री बनाउने कुरा पनि सतहमा आइरहेको छ । यसैबिच बिष्णु बाहेक अन्य ब्यक्तिलाइ अर्थमन्त्री बनाउनुपर्छ भन्ने कुरा पनि नआएका होइनन् । यसबिचमा बामदेवले नै अर्थमन्त्रीको दावेदारी गर्न सक्छन भन्ने आशंका पनि यदाकदा आएको छ । मन्त्री परिषदको हेरफेरको तयारी पनि भएको कारण अहिलेका अर्थमन्त्री खतिवडा सँगै अन्य केही मन्त्रीहरुको पनि बहिर्गमन हुने देखिएको छ ।
रातोपाटीको सहयोगमा