ललितपुर । बिहिबार भएको झडपप्रति खेद व्यक्त गर्दै ललितपुर जिल्लाका जिल्ला प्रमुख अधिकारी नारायणप्रसाद भट्टले छोटो कार्यविधिबाट रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने निर्णय भएको बताएका छन् ।
ललितपुर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भट्टको अध्यक्षतामा बसेको बैठकबाट भदौ १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत र्हेर्ने र २६ गते मूर्ति बुङ्मतीमा पुर्याएर मन्दिरमा विराजमान गराउने गरी छोटो कार्यविधि बनेको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए ।
करिब १६०० वर्ष अगाडि शुरु भएको रातो मच्छिन्द्रनाथको रथयात्रा विगतका वर्षहरुमा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइने गरिन्थ्यो । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद्हरु बताउँछन् । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको थियो । यस वर्ष कोरोना कहरका कारण पटक पटक मिति तोकिएपनि रोकिएको जात्रा सम्पन्न गर्न छोटो कार्यविधि अपनाउन आवश्यक रहेको सरोकारवालाहरुको भनाइ रहेको छ ।
बैठकमा सङ्घीय सांसद पम्फा भुषाल, प्रदेश राजकाजी महर्जन, कृष्णलाल महर्जन, ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन, गुठी संस्थानका पदाधिकारी लगायत जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।विगतमा झैं यसवर्ष भोटो देखाउने चलन भने गरिनेछैन ।
छोटो कार्यविधिबाट रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने तयारी






