काठमाडौं– भदौ १ बाट लागु हुन लागेको नयाँ मुलुकी (देवानी) संहिता ऐन २०७४ ले कसैले–कसैलाई झुठा उजुरी दिए उजुरीकर्ताले नै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले अब जो कसैले प्रमाणविना कसैमाथि उजुरी हाल्न सोच्नुपर्ने भएको छ ।
यसअघि रिसइवी राखेर पनि उजुरी दिनसक्ने र क्षतिपूर्तिको व्यवस्था नभएकाले झुटो उजुरी दिएर दुख दिने नियत देखिएकाले यो व्यवस्था गर्न लागिएको बताइएको छ ।
ऐनको दफा २८ मा झुटा उजुरी दिएको देखिएमा क्षतिपूर्ति भराइदिने व्यवस्था छ । जसको उपदफा १ मा कसैले कसैलाई दुख दिने वा हानिनोक्सानी पुर्याउने नियतले झुटो उजुरी दिएको ठहरेमा सम्बन्धित अदालतले त्यसरी झुठा उजुरीकर्ताबाट प्रत्यर्थीलाई मानसिब क्षतिपूर्ति भराइदिने उल्लेख छ ।
त्यस्तै उपदफा २ मा उपदफा (१) बमोजिम भराइने क्षतिपूर्तिमा प्रत्यर्थीले अदालतमा आप्mनो प्रतिरक्षा गर्दा लागेको खर्च, अदालती दस्तुर र कानून व्यवसायीको खर्च समेत समावेश हुनेछ भन्ने व्यवस्था गरेको छ ।






