काठमाडौं– नेपाली कांग्रेसले जारी संसद बैठक सुचारु हुनुपर्नेमा जोड दिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन प्रस्तावको विरोध गरिरहेको बेला कांग्रेसले संशोधन प्रस्ताव अघि बढाउनु पर्ने भन्दै संसदको अवरोध हटाउन जोड दिएको हो ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान बसेको पूर्व पदाधिकारी तथा वर्तमान पदाधिकारी बैठकले संविधान संशोधन प्रस्तावलाई अघि बढाउने निर्णय गरेको र त्यसका लागि संसदको अवरोध हटाउन जोड दिएको नेता प्रकाशमान सिंहले जानकारी दिए ।
पूर्वमहामन्त्री समेत रहेका सिंहले संसदको अवरोध हटाउन पार्टीले पहल गर्ने समेत बताए ।
उनका अनुसार स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न तत्काल निर्वाचन आयोगलाई पूर्णता दिइनुपर्नेमा पनि बैठकले जोड दिएको छ ।
आइतबारको बैठकले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग आग्रह गरेको थियो ।






