बेलायतमा भूपू गोर्खाको आवासीय अधिकारबारे व्यारिस्टरहरुसंग विशेष अन्तर्क्रिया

लन्डन ।बेलायती सेनाबाट निवृत्ति भएका भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारसंग सम्बन्धित अध्यागमन सम्बन्धी समस्याहरुबारे ब्रिटिश व्यारिस्टरहरुसंग एक अन्तर्क्रिया सम्पन्न भएको छ ।

बेलायत स्थित ३ वटा अनलाइन पोर्टलहरु लण्डन नेपाल न्यूज, नेपाली लिंक र ग्लोबल नेप्लिज डटकमका फेसबुक पेजहरुबाट उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको हो।

गत आइतबार आयोजित छलफलमा अध्यागमन मामिला हेर्ने लन्डनस्थित ल फर्म ल्याम्ब बिल्डिंगसंग आवद्ध वरिष्ठ व्यारिस्टरहरु रफायल जेसुरम, म्याथ्यु मोरियार्टी र किलीन म्याक्कार्थीका साथै एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापा तथा सोहि फर्मसंग आवद्ध सोलिसिटर सैयद इमरान अलिले भाग लिएका थिए ।

व्यारिस्टर रफायल जेसुरमले सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुलाई बेलायतमा स्थायी बसोबासको अनुमति नदिइएकाले उनीहरुप्रति ऐतिहासिक अन्याय भएको कुरा अदालतले स्वीकार गरेको बताए। उनले गोर्खा परिवारमा पारिवारिक सम्बध मजबूत हुने हुनाले त्यो देखाउन सक्दा केस बलियो हुने सुझाव दिए। व्यारिस्टर जेसुरमले नेपालमा तीन पुस्तासम्म एउटै घर, परिवारमा बस्ने प्रचलन रहेकाले त्यो कुरा ब्रिटिश न्यायाधीशहरुलाई राम्रोसंग बुझाउनु पर्ने बताए।

व्यारिस्टर किलीन म्याक्कार्थीले कोभिड-१९ का कारण प्रत्यक्ष सुनुवाइ रोकिएको भए पनि भूपू गोर्खा सैनिक लगायत सबैले सुनुवाइको लागि राम्रो अवसर पाउन् भनेर अदालत संवेदनशील रहेको बताइन्। उनले आफ्ना वयस्क छोरा छोरी ल्याउन चाहने गोर्खा अभिभावकहरुले आफ्ना सन्तानसंग आर्थिक तथा भावनात्मक सम्बन्ध बलियो रहेको पुष्टि गर्नुपर्ने जनाइन्। अर्का व्यारिस्टर म्याथ्यु मोरियार्टीले २,३ पटक प्रयास गर्दा असफल भए पनि हरेस खान नहुने सुझाव दिए। उनले नयाँ प्रमाण र नयाँ नीतिहरुलाई आधार बनाउँदा सफलता पाउन सकिने उदाहरण पनि दिए। उनले गोर्खालीहरुको मुद्दा लडेर ५४ वर्ष उमेर पुगेका सन्तानलाई ब्रिटेन ल्याउन सफल भएको अनुभव सुनाएका थिए। त्यस्तै सोलिसिटर सैयद इमरान अलिले आफ्नो फर्मबाट अपिल गर्दा एकजना गोर्खा विधवाका आठ जना सन्तानले आवासीय अनुमति पाएको उदाहरण सुनाएका थिए।

सन् २०१५ मा ब्रिटिश सरकारले भूतपूर्व गोर्खा सैनिकका ३० वर्ष मुनिका सन्तान आफ्ना बाबाआमासंग बेलायत आउन पाउने नियम ल्याएता पनि अपिल गरेर ३० वर्ष माथिका सन्तान पनि बेलायत आउन सफल भएका छन्। श्रीमती आरति श्रेष्ठले व्यारिस्टरहरुको जवाफलाई नेपालीमा उल्था गरेकी थिइन्।

कार्यक्रमको दोश्रो चरणमा एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले दर्शक, श्रोताहरुका जिज्ञासाहरुको जवाफ दिएका थिए।

“अहिले कोरोना संकटका कारण धेरै भूतपूर्व गोर्खा सैनिकहरुका अध्यागमनसंग सम्बन्धित मुद्दाहरुका सुनुवाइहरु पर सारिएका छन्। यस्तो अवस्थामा कसरी सुनुवाइ भै रहेको छ र ३० वर्ष नाघेका आफ्ना सन्तानहरु बेलायत ल्याउन चाहने बाबाआमाहरुले के कस्तो तयारी गर्नु पर्छ भन्ने विषयमा सो अन्तरक्रिया निकै उपयोगी भएको भूतपूर्व गोर्खाहरुले बताउनु भएको छ,” थापाले भने। “यसबाट नेपाली समुदाय, खासगरी आफ्ना वयस्क सन्तानहरु बेलायत आउने आशा गरेर बसीरहेका भूतपूर्व गोर्खा सैनिकहरु तथा गोर्खा विधवाहरु लाभान्वित हुनु भएको छ।”

बेलायतका पहिलो नेपाली सोलिसिटर राजु थापाले पछिल्लो पटक भूपू गोर्खाका वयस्क सन्तानहरु र बिधवाको मुद्दामा अत्यधिक सफलता प्राप्त गरेका छन् । बेलायतमा यसरी ब्रिटिश व्यारिस्टर तथा सोलिसिटरहरु भर्चुयल अन्तरक्रिया गरिएको यो पहिलो पटक हो।

www.londonnepalnews.com, www.nepalilink.comwww.globalnepalese.com द्वारा संयुक्त रुपमा आयोजित अन्तरक्रियाको संचालन भगीरथ योगीले गरेका थिए भने पत्रकारहरु शिब भण्डारी, नबिन पोखरेल तथा जगन कार्कीले दर्शक/श्रोतबाट प्राप्त प्रश्नहरु सोधेका थिए।