काठमाडौं । सत्ता गठबन्धनले मन्त्रालयहरुको भागवण्डाको टुंगो लगाएको छ ।
मंगलबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो ।
सरकार गठन भएको तीन महिना हुन लाग्दासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बनेका थिए । गठबन्धन दलबीचमै विवाद उत्पन्न भएको आशंकाबीच मंगलबार मन्त्रालय भागबन्डा लगाउन शीर्ष नेताहरूबीच बैठक बसेको हो ।
प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो ।
अब कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्रालय र माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जसपाले पाँचपाँच मन्त्रालय पाउने छन् ।
जस अनुसार नेकपा एकीकृत समाजवादीको भागमा पाँच मन्त्रालय र एक राज्यमन्त्री परेको छ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद मेटमणी चौधरीले आफूहरुले पाँच मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति भएको जानकारी दिए।
उनका अनुसार एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ। समाजवादीबाट एकजना राज्यमन्त्रीसमेत हुनेछन्।
एकीकृत समाजवादीका एक शीर्ष नेताले पार्टीको तर्फबाट विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी र प्रेम आलेमगर मन्त्री बन्ने जानकारी दिए।
भवानी खापुङ पनि मन्त्री बन्ने चर्चा भए पनि पार्टीको भागमा पाँचवटा मात्रै मन्त्रालय परेकाले उनी मन्त्री नबन्ने देखिएको छ। एकीकृत समाजवादीले राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने अहिलेसम्म टुंगो लगाइसकेको छैन।
शीर्ष नेताहरुबीच मन्त्रालय भागबन्डामा सहमति जुटेपछि एकीकृत समाजवादीका नेताहरू अहिले आन्तरिक छलफलसमेत गरिरहेका छन्।
यस्तै कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्रालय र माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जसपाले पाँचरपाँच मन्त्रालय पाउने छन् । कांग्रेसले प्रधानमन्त्री, गृह, कानुन, परराष्ट्र, सञ्चार, स्वास्थ्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने भएको छ ।
माओवादी केन्द्रको भागमा अर्थ, ऊर्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय परेको छ ।
माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ।
भोली या पर्सीमा मन्त्री नियुक्त गरि शपथ गराउने तयारी छ ।
फाइल फोटो






