काठमाडौं, ३२ जेठ । स्वास्थ्य मन्त्रालयले अत्यधिक गर्मीसँगै काठमाडौं उपत्यकासहित भूकम्प प्रभावित जिल्लामा जापानिज इन्सेफलाइटिस र डेंगुको संक्रमण फैलिने खतरा रहेको चेतावनी दिएको छ। स्वास्थ्य सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाले गर्मीसँगै भूकम्पपछि सुरु भएको अव्यवस्थित बसोबास र फोहोरका कारण जापानिज इन्सेफलाइटिस र डेंगुका भाइरसलाई फैलने सम्भावना रहेको भन्दै यसबाट बच्न आग्रह गरेको हो।
‘भूकम्बाट घरबारविहीन भएका हुन् या राम्रै घरमा बस्ने हुन् सबै यी रोगको जोखिममा परेका छन्’, महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले भने, ‘जापानिज इन्सेफलाइटिस, डेंगु सँगै काठमाडौं वरिपरिका क्षेत्रमा पशुबाट मानिसमा सर्ने रोगको संक्रमण दर बढिरहेकाले सचेत हुनुपर्ने देखिन्छ।’ मरासिनीका अनुसार भूकम्प प्रभावित जिल्लामध्ये काठमाडौं उपत्यका जापानिज इन्सेफलाइटिसको सबैभन्दा उच्च जोखिममा छ।
‘दीर्घरोगी र वृद्धवृद्धाले त सबैभन्दा ध्यान दिनुपर्ने देखिन्छ’, उनले भने, ‘यो रोग फैलिसकेपछि जनधन दुवैको नोक्सानी हुन्छ, त्यही भएर समयमै सचेत हुन आवश्यक छ।’ चिकित्सकका अनुसार नवजात शिशु, बालबालिका, गर्भवती र सुत्केरी महिलालाई यस्तो रोगले छिट्टै आक्रमण गर्छ।
जापानिज इन्सेफलाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेले जलचर तथा जनावरलाई टोक्दा आफू संक्रमित हुन्छ अनि मानिसलाई टोक्दा सर्ने गर्छ। यो प्रजातिको लामखुट्टे विशेष गरी झिसमिसे साँझ र मिरमिरे बिहानीमा बढी सक्रिय हुन्छ। चिकित्सकका अनुसार धानखेत र सुँगुरपालन हुने क्षेत्रका मानिसमा यो रोग छिटो सर्छ। लामखुट्टेले टोकेको चार दिनदेखि १४ दिनसम्ममा उच्च ज्वरो आउने, टाउको दुख्ने, थकाइ लाग्ने, वाक्वाक् र बान्ता हुनेजस्ता लक्षण देखा पर्दछन्।
डेंगु पनि एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो। डेंगुका भाइरस टायर, कन्टेनर, टिनका बट्टामा राखिएका पानीमा सजिलै बस्छन्। हेर्दा सफा लाग्ने पानीमा पनि ती भाइरस बाँच्न सक्ने भएकाले सरसफाइमा ध्यान दिन आवश्यक छ।
उपत्यकामा इन्सेफलाइटिस फैलिने खतरा






