काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण एजेन्डाविहीन भएको बताएका छन् ।
भारत भ्रमणमा निस्कने अघिल्लो दिन विहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले आफ्नो ‘एजेन्डाविहीन भ्रमण नै सबैभन्दा गह्रौं एजेन्डा’ भएको पनि बताए ।
भारतको साढे चार महिना लामो नाकाबन्दीले जटिल परिस्थिति निम्त्याएकाले बिना एजेन्डा नै भारत जान लागेको उनको भनाइ थियो ।
‘अहिलेको परिस्थिति खाली डोको लिएर जाने र भरेर आउने खालको नभएको’ भन्दै प्रधानमन्त्री ओलीले आपसी अविश्वास हटाइ समझदारी बढाउनेमा आफ्नो भ्रमण केन्द्रित हुने बताए ।
नेपालमा संविधान जारी भएसँगै कतिपय विषयमा असमझदारी रहेपनि भारत नाकाबन्दीको तहसम्म जानु उपयुक्त नभएको उनको भनाइ थियो ।
भ्रमणक्रममा भारतबाट नेपाललाई कुनै नोक्सान हुने गतिविधि नहुने प्रतिबद्धता खोज्ने प्रधानमन्त्री ओलीले बताए ।
नयाँ संविधान जारी भएपछि बनेको प्रधानमन्त्रीलाई भ्रमणमा बोलाएर भारतले संविधानको स्वागत् गरिसेकेको उनको भनाइ थियो ।
संविधान संशोधनको स्वागत् गर्नुलाई भारतले नेपालको संविधानको स्वागत् गरेकोरुपमा बुभ्mनुपर्ने ओलीले बताए ।
आफूले भारत वा चीनविरुद्ध कुनै ‘कार्ड’ नखेल्ने भन्नै उनले आफू ‘जुवाडे’ नभएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भ्रमणक्रममा भारतीय उद्योगी–व्यवसायीहरुलाई नेपालमा लगानीका लागि आग्रह गर्ने जानकारी पनि दिए ।






