काठमाडौँ- नेपालको इतिहासमै छिमेकी भारतको राजकीय भ्रमण गर्ने दोस्रो कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।
आपसी मित्रतालाई पूर्ववत् अवस्थामा फर्काई अझ मजबुत बनाउने मुख्य लक्ष्यका साथ ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री पाँचदिने भारत भ्रमणमा जान लाग्नुभएको हो । यसअघि विसं २०४६ को राजनीतिक परिवर्तनपछि विसं २०४७मा गठित सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राजकीय भ्रमणको सम्मान दिइएको थियो भने अब लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिएको नयाँ संविधान जारीपछिको नयाँ सरकारका प्रधानमन्त्री ओलीलाई सोही प्रकारको सम्मान दिन लागिएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति प्रवण मुखर्जीको आतिथ्यतामा राष्ट्रपति निवास सप्रु भवनमा रहनु हुनेछ ।
भारतीय राष्ट्रपति मुखर्जीबाट प्रधानमन्त्री ओलीलाई सो भवनमा रहन औपचारिक पत्रसमेत आइसकेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही फागुन ७ देखि १२ गतेसम्म प्रधानमन्त्रीले भारतको राजकीय भ्रमण गर्नु लाग्नुभएको हो ।
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार भारतले नेपालका नयाँ संविधान जारी भएको, लामो समयको द्वन्द्व सकिएको नयाँ अवस्थाको सरकार प्रमुखलाई ०४६ पछिको प्रजातन्त्र पुनःस्थापनापछिको अवस्थाको सरकार प्रमुखलाई सरहको सम्मान दिइएको हो । परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी पनि राजकीय सम्मान कुनै मुलुकका राष्ट्राध्यक्षलाई दिने सरहको भ्रमण भएको बताउनुहुन्छ ।
मुख्य सल्लाहकार रिमालले दुई देशबीचको ऐतिहासिक सम्बन्धमा मित्रता नै सबथोक भएकाले सम्बन्धमा देखिएको केही द्विविधालाई स्पष्ट पार्ने र द्विपक्षीय विकासबारे भ्रमणका समयमा छलफल हुने बताउनुभयो । उहाँले विगतमा सहमति भएका परियोजना र पूरा हुन बाँकी कार्य (जस्तो हुलाकी राजमार्ग) बारे पनि छलफल हुने जानकारी दिनुभयो ।







