तक्दीर अधिकारी
मेलवर्न । भिक्टोरिया राज्यको मेलवर्नमा चार जना नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । भिक्टोरिया राज्यमा पछिल्लो २४ घन्टामा १ सय ३४ जनामा कोरोना संक्रमण भेटियो, त्यसमध्ये चार जना नेपाली विद्यार्थी हुन् । ती चारैजना नेपाली विद्यार्थीको स्वास्थ सामान्य रहेकाले उनीहरु घरमै सेल्फ आईसोलसनमा रहेका छन् ।
सुरुमा एकजना विद्यार्थी जो नियमित काममा जान्थे, उनमा संक्रमण देखियो, त्यसपछि उनको सम्पर्कमा अन्य पाँच जनाले पनि परीक्षण गराएका थिए । उनीहरु मध्ये ३ जनाको रिर्पोट पोजेटिभ आएको थियो भने अन्य दुई जनाको रिपोर्ट आउन बाँकी रहेको गैरआवासी नेपाली संघ (एनआरएनए) भिक्टोरियाका संयोजक प्रेम कँडेलले जानकारी दिए ।
घरमै आइसोलेसनमा बस्नेका उनीहरुले तत्काल अरुबाट कुनै सहयोग नलिने बताएका छन् । दैनिक उपभोग्य वस्तुको अभावमा उहाँहरुलाई बाहिर निस्कनुपर्ने वातावरण सिर्जना नहोस्, उहाँहरु बाहिर निस्कँदा अरुमा संक्रमण नफैलियोस् भनेर पहल गरिएको एनआरएनए उपाध्यक्ष कँडेलले बताए ।
गैरआवासीय नेपाली संघले कोभिड–१९ भएको र नभएकालाई फरक राहत प्याकेज उपलब्ध गराएको छ । रोजगारी गुमाएकाहरुलाई ग्रोसरी प्याकेट थियो भने संक्रमितका लागि भने उनीहरुको आवश्यकता सोधेरै सामग्री उपलब्ध गराइन्छ, अहिले पनि हामीले त्यसै गर्न खोजेका हौं, उपाध्यक्ष कँडेलले भने, ‘उहाँहरुले हामीले आवश्यक सामग्रीको लिस्ट उपलब्ध गराउनु भएको छैन ।’
एनआरएनए, एम्दा र एकजना डाक्टरको मात्र उहाँहरुलाई फोन नम्बर उपलब्ध गराइएको छ । यति हुँदा पनि उहाँहरु कुरा गर्न मानिराख्नु भएको छैन । समुदायका अगुवासँग लिंक गर्ने, आत्मबल वृद्धि गरी एक महिनाका लागि दैनिक उपभोग्य सामग्री जोह गर्ने, अप्ठ्यारो परेका बेला के गर्ने भनेर एकजना डाक्टर जो घरमा जाँदैनन, फोनमार्फत् सल्लाह दिने व्यवस्था गरिएको उपाध्यक्ष कँडेलले बताए ।
उनीहरु बसोबास गर्ने क्षेत्र मेलवर्नको ग्लेनरोय हो । यो स्थान कोरोनाको दोस्रो छालको हट स्पटमा परेकाले यसअघि नै त्यस क्षेत्र ६ साताका लागि लकडाउन गरिएको थियो । लकडाउनकै बिचमा ६ जना नेपाली संक्रमित बनेका थिए । उनीहरु कसरी संक्रमित भए भन्नेबारेमा अनुसन्धान भइरहेको कँडेलले बताए ।
अष्ट्रेलियामा ११ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबैजना निको भइसकेका छन् ।






