काठमाडौं, २७ फागुन । चर्चित योगी रामदेवले काठमाडौंमा ४० हजार नेपालीलाई योग सिकाउने भएको छन् । उनले बैशाख ११ गतेदेखि १५ गतेसम्म टुँडिखेलमा निःशुल्क योग सिकाउने भएका हुन् ।
रामदेवले विहान ५ बजेदेखि ८ बजेसम्म सहभागीहरुलाई योग सिकाउने योग विज्ञान शिविर मुल आयोजक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले जानकारी दिए । करिव ४० हजार नेपालीलाई शिविरको पास वितरण गर्ने बताइएको छ ।
शिविरमा पतञ्जली योगपिठ हरिद्धारबाट आएका वैद्यहरुले निःशुल्क स्वास्थ्य परिक्षण समेत गर्नेछन् । जुन शिविरबाट हजारौं नेपालीले स्वास्थ्य लाभ लिने अपेक्षा आयोजक पतञ्जली योगपिठ नेपालले लिएको छ ।
विहान योग सिकाइने छ भने दिउँसो स्वास्थ्य शिविर राखेर सेवा प्रदान गरिने भएको छ । शिविरमा आयूर्वेद शिरोमणि आचार्य बालकृष्णको समेत सहभागिता रहने बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
योग र आयूर्वेदको माध्यमबाट नेपालीलाई शारीरिक तथा मानसिक आरोग्यता प्रदान गरी सकरात्मक भावनाको विकास गर्ने उद्देश्य राखेको मुल आयोजक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले बताए । ‘सबैभन्दा पहिले हामी शारिरीक तथा मानसिक रुपमा तन्दुरुस्त हुनुपर्यो, अनिमात्र हामीले गर्न खोजेको काममा सफलता पाउँछौं’ महतोले भने- ‘यसका लागि योग नै सबैभन्दा उत्तम माध्यम हो ।’
स्वामी रामदेव नेपाललाई उच्च प्राथमिकतामा राखेर योग सिकाउन आउन लागेको महतोले बताए । रामदेवको आग्रहपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र संघले जुन २१ लाई विश्व योग दिवस घोषणा गरेको छ । त्यतिबेला १७२ राष्ट्रले मोदीको प्रस्तावमा समर्थन जनाएका थिए ।
योगको विश्वभर प्रचार-प्रसारको क्रममा अष्ट्रेलियाको सिड्नी, मेलवर्न र बि्रसवर्नमा शिविर सम्पन्न गरेर रामदेव काठमाडौंमा आउन लागेका हुन् । शिविरका लागि डा. महतोको अध्यक्षता तथा ओमप्रकाश बंशलको संयोजकत्वमा ७५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
शिविर सञ्चालनका लागि एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यो सबै रकम ७५ जनाबाट संकलन गरिएको मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए ।
आयोजकले रामदेवलाई ७ दिनसम्म राख्न पहल गर्ने बताएको छ । अहिलेसम्म रामदेव ५ दिनमात्र बस्ने कार्यक्रम रहेको छ । वरिष्ठ उपाध्यक्ष दाहालले शिविरमार्फत नेपालीहरुको मनमा सकरात्मक भावनाको विकास गर्नुका साथै उनीहरुलाई शारिरिक तथा मानसिक रुपमा स्वस्थ राख्नु शिविरको उद्देश्य रहेको बताए ।
पतञ्जली योगपिठ नेपालका ट्रष्टी शालिग्राम सिंहले ४० हजार शिक्षक शिक्षिकाले नेपालभर योग सिकाइरहेको जानकारी दिए । पछिल्ला दिनमा योग गर्नेहरुको संख्या हृवात्तै बढिरहेको उनले बताए ।






