एमाले कार्यदलको बैठक सम्पन्न

नेकपा (एमाले)का केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड गर्न आज शीर्ष नेताहरू सम्मिलित कार्यदलको बैठक ओली निवास बालकोटमा सम्पन्न भएको छ । भोलि पुनः बैठक बस्ने पार्टीको स्थायी समितिमा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेलबीच आज छलफल भएको हो ।
छलफलमा भागवण्डाका आधारमा भन्दा पनि सहमति र समावेशीका आधारमा कार्य विभाजन गर्न न्यूनतम् मापदण्ड बनाई जिम्मेवारी तोक्न छलफल भएको पार्टी उपाध्यक्ष भण्डारीले बताउनुभयो । कार्य विभाजन नहुँदा स्थायी समिति, पोलिटव्युरो र केन्द्रीय समितिमा रहेका नेताले जिम्मेवारी पाएका छैनन् । गत असारमा पार्टीको नवौ महाधिवेशन भएपनि नेताहरूले अघिल्लो महाधिवेशनमा भएकै कार्यविभाजनअनुसार काम गर्दै आएका छन् ।
यसअघि बसेको बैठकमा शीर्ष नेतृत्वबीच सहमति हुन नसकेपछि बनाइएको कार्यदलको बैठक आज बसेको हो ।