केन्यामा रहेका विदेशी विद्यार्थी फर्काइँदै

गरिसा (केन्या), २१ चैत । केन्याको एक क्याम्पसमा भएको आक्रमणमा परी १४७ जनाको ज्यान गएपछि सो क्याम्पस र आसपसमा रहेका विदेशी विद्यार्थीहरु आ–आफ्नो घर फर्किएका छन् । उनीहरुलाई सम्बन्धित देशले स्वदेश फर्काएको समाचारमा जनाइएको छ । शनिबारसम्ममा विभिन्न देशका गरी करिब ६६३ विद्यार्थी स्वदेश फर्काइएको समाचारमा जनाइएको छ ।
सो समाचारको केन्याली सुरक्षा निकायले पुष्टि गरेका छन् । गरिसा नगरमा रहेका ती विद्यार्थीलाई स्वदेश फर्काइएको हो । केन्याको एक क्याम्पसमा आत्मघाती र हतियारधारीले गरेको आक्रमणमा परी १४७ विद्यार्थी मारिएका छन् । बिहीबार सो क्याम्पसमा सोमालियाली अल सेबाबका हतियारधारीहरुले आक्रमण गरेका थिए ।
आत्मघाती आक्रमणकारीले सो हमला गरेका थिए । विस्फोटक पदार्थले भरिएको भेष्ट लगाएका केही व्यक्तिले अकस्मात हमला गर्दा ती व्यक्ति मारिएका समाचारमा जनाइएको छ । साथै अन्य केही हमलाकारीले अन्धाधुन्ध गोली हानेका थिए ।
ज्यान जानेमा सबैजसो विद्यार्थी नै परेका छन् । उनीहरुको सुतिरहेको अवस्थामा सो हमला भएको हो । हतियार र विस्फोटक पदार्थले सुसज्जित हमलाकारीले सुतिरहेको अवस्थाका विद्यार्थीमाथि आक्रमण गरेका थिए ।
नाइजेरियाको उत्तरपूर्वी नगर गारिसामा रहेको एक विश्वविद्यालयमा नै उनीहरुले सो हमला गरेका हुन् । आक्रमणको जिम्मा सोमालियाली आतङ्ककारी समूह अल सेबाबले लिइसकेको छ ।

पाँच सङ्कास्पद पक्राउ
यसैबीच सो हमलामा सम्लग्नताको आसङ्कामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । गरिसा नगर र त्यस आसपसका विभिन्न क्षेत्रबाट ती सङ्कास्पद व्यक्ति पक्राउ परेको बताइएको हो । शुक्रबार नै सोमालिया भाग्न लागेको अवस्थामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको थियो । उनीहरु सोमालियाको एक स्थानीय आतङ्ककारी समूहमा सम्लग्न रहेको अनुसन्धानबाट खुलेको छ ।
प्राप्त समाचारअनुसार प्रहरीले गरिसा नगर तथा केन्याका अधिकांश भूभागमा सो विद्यालयमा हमलागर्ने व्यक्तिको खोजीकार्य जारी राखेको छ । केन्याली प्रहरीले सोमालियासँगको सीमाक्षेत्रमा कडाई गरी सो खोजी थालेको बताएको छ ।

थप हमलाको चेतावनी
उता सो हमलामा सम्लग्न रहेको स्वीकार गरिसकेको सोमालियाली संगठन अल सेबाबले सो हमलापछि पनि अर्काे यस्तै आक्रामक हमला गर्ने चेतावनी दिएको समाचार छ । आतङ्ककारी सञ्जाल अल कायदासँग आबद्ध रहेको अल सेबाबले शनिबार बिहान एक विज्ञप्ति प्रकाशन गरी सो चेतावनी दिएको बताइएको छ । सो संगठनले केन्या र सोमालियाली सरकारले कडा सुरक्षाका नाममा झन ठूलो आतङ्क मच्चाएको उसको आरोप छ । केन्यामा यस्तै अर्काे आक्रमणको योजना आफुहरुको रहेको सो संस्थाले जनाएको हो ।