जगन कार्की- लन्डन ।

प्रणय दिवस ,

प्रेमका रंगहरुसंगै प्रेममय तरङ्ग बनि ,
सामाजिक संजालका भित्ताहरुमा छचल्किएर ,
प्रेमका बाछिटाले प्रेममय हृदयहरु मलिन बन्ने सुन्दर प्रहर;
कुरेर बसेका बैस्य युगका गुलाबका ब्यापारीहरुको,
बजार प्रबर्धनको महोत्सव जस्तो लाग्ने ।

त्यस्तै देखावटी बजारका उपभोक्ताहरू;
एकथरी ,
खोक्रो र रंग पोतीएको हेर्दा सुन्दर लाग्ने उपहार संगै,
मनभित्र रिस, राग,घृणा र डाहको पोको बोकेर,
ठुलो स्वरमा प्रणय दिवसको शुभकामना भन्नु ,
पवित्र प्रेमको देखावटी प्रहसन, उपाहस गरे झैँ लाग्ने ।

अर्काथरी,
अर्ति , उपदेश अनि प्रेमको परिभाषा सिकाउदै,
अरुको निन्दा र आलोचना गर्नेहरु,
प्रेमको देखावटी व्यपार चलाउनेहरु देखि
प्रेमलाइ स्वार्थको संकीर्ण घेरामा कैद गरेर,
घृणाको छुरा चलाउनेहरु,
स्वार्थ र संकुचित विलासी बिचारहरुसंगै,
प्रेम हृदयको ढोका नै बन्द भएर ,
प्रेमको परिभाषा नै भुली सडकमा अल्मलिएर,
प्रेमको डाह गर्दै छटपटीएका दुखि आत्माहरु झैँ लाग्ने ।

निन्दा त ,
नकरात्मकता , कुकर्महरुको गरेकों जाती !
प्रेमको उत्सव आफैमा घृणा निन्दा र तिरस्कार भन्दा माथि ।

प्रविधिको बेगसंगै , भौतिक सुखको प्रेममा फसेको मानिसलाइ, भावना र ब्यबहारको प्रेम फिक्का लाग्न थालेर हो कि ?
बार्षिक रुपमा स्मरण गर्ने दिवस जस्तो ,
प्रेमको दिवस एकदिन धुमधाम मनाइनु बिडम्बना झैँ लाग्ने ।

बिडम्बना नै सही , देखावटी नै सहि व्यस्त जीवनशैलीका बीच , एकै दिन भएपनि प्रेमको उत्सव मनाउन दिनु पर्छ ,
आखिर कहाँ तुलना हुनसक्छ र ?
फुल ब्यापारी, घृणा र नकारत्मक संदेशधारीहरुको तुलना ?
निश्चल हृदयहरुसंग , निस्वार्थ मायाँ र पागल प्रेमीहरुसंग ।

प्रेम न गरेर गरिन्छ , न भनेर हुने गर्छ ,
निस्वार्थ हृदयबाट हुने चिज हो माया ,
हुर्काउने फक्र्याउने फलाउने दैनिक अभ्यास हो माया ,
स्त्री र पुरुस बीच हुने मात्र हैन प्रेम ,
पक्कै ! जीवन जगतलाइ माया गर्ने
जीवत आत्माहरुको दैनिक जिउने अधार हुनु पर्छ प्रेम !

गीतरुपी जीवनको सुमुधुर संगीत हुनु पर्छ प्रेम ,
यस गीतको धुन जगाई ,
जिवन लिने-दिने प्रेमीहरुबीच प्रेमको स्वार्थ नै प्रेम बनेर ,
भनिने, लेखिने र देखिने मात्र भन्दा ब्यबहार र भावनामा पोखिदै , सदा प्रेममय दैनिकी बन्नुपर्छ प्रेमीहरुको प्रेम ।
जय निश्चल , निर्मल , अविरल, बिमल प्रेम !

लेखक पत्रकार महासघ युके शाखाका सचिब हुन् ।

 

फेसबुक कमेन्ट