लाप्राक पुनः निर्माण चाँडो सम्पन्न गर्न एनआरएनएलाई आग्रह

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए ) ले बनाइरहेको एकीकृत नमूना बस्ती छिटो पुनः निर्माण गरिसक्न सरकारले आग्रह गरेको छ । गोरखाको लाप्राकमा बन्न लागेको लाप्राक बस्ती पुनः निर्माणको पछिल्लो अवस्था तथा त्यहाँ सञ्चालन गर्न सम्भव हुने आयआर्जन कार्यक्रमबारे राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज सङ्घका केन्द्रीय पदाधिकारीसँग छलफल गर्दै सो आग्रह गरेका हुन ।

सो अवसरमा सङ्घका अध्यक्ष भवन भट्टले मौसमी कठिनाइ, सामान ढुवानी गर्न बाटोको समस्या तथा विकटता हुँदाहुँदै पनि लाप्राक पुनः निर्माण शीघ्र सम्पन्न गर्न कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्दै भौतिक पुनः निर्माण सकिएपछि घरबास होमस्टे सहितका पर्यटन प्रवद्र्धन, कृषि तथा पशु विकासका कार्यक्रम लैजाने योजना बनाइएको जानकारी दिए ।

छलफलमा प्राधिकरणका कार्यकारी सदस्यद्वय धुव्रप्रसाद शर्मा र डा चन्द्रबहादुर श्रेष्ठ, सङ्घका महासचिव डा बद्री केसी, लाप्राक बस्ती पुनः निर्माण परियोजना निर्देशक सुभाष अधिकारीलगायतको सहभागिता थियो ।