काठमाडौं– गोपाल किराँतीको नेतृत्वमा पुनर्गठित माओवादी केन्द्रले नयाँ राजनीतिक नारा अगाडि सारेको छ ।
गत मंसिरमा सम्पन्न संघीय संसदको चुनावपछि देशले स्थीर सरकार पाएको बताइरहेको बेला सो पार्टीले राष्ट्रिय सरकारको माग अगाडि सारेको हो ।
भदौ १६ र १७ गते बसेको पोलिटव्यूरो वैठकले संसद विघटन, राष्ट्रिय सरकार र संविधान पुनर्लेखनको मुद्दालाई तत्कालीन राजनीतिक कार्यनीति बनाएको पार्टी अध्यक्ष गोपाल किराँतीले बताए ।
उनले सरकारले राष्ट्रिय स्वाधीनतामाथि आच पुर्राएको, प्रतिक्रियावादी कर प्रणाली लागू गरेको, अपराध रोक्न नसकेको, पहिचान विरोधी प्रदेश नामकरण गरेको र संसद जनविरोधी भएपछि आफूहरुले नयाँ कार्यनीतिक नारा अगाडि सारेको बताए ।
अहिलेको संविधानलाई पुरै मान्ने, आधा मान्ने र मान्दै नमान्ने तीन वटा शक्ति अस्तित्वमा रहेको भन्दै किराँतीले सबैले मान्ने संविधान बनाउन पुनर्लेखनको माग अगाडि सारेको बताए ।
मधेशवादी दल, नयाँशक्ति र आदीवासी–जनजातीले संविधानमा असन्तुष्ट पक्षमा माग समेटनु पर्ने माग राखेका छन् । मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि संबिधान खारेजीको माग राखेको छ । यस्तो बेला किराँती नेतृत्वको पार्टीले संविधान पुनर्लेखनको माग अगाडि सारेको हो ।
किराँतीले विप्लवको पार्टीले आफूहरुको नारामा सहमति जनाए संसद विघटनको सम्भावना रहने बताए । नयाँ राजनीतिक शक्ति सन्तुलन देखा पर्ने अबस्थामा काँग्रेस पनि यो मुद्दामा आउने र राष्ट्रिय सरकार बन्ने पनि दावी गरेका छन् ।
त्यसैबीच नेता किराँतीले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डले गृहमन्त्री रामबहादुर थापाका जनपक्षीय काममा अवरोध गरेको भन्दै बादलले नेकपाबाट विद्रोह गर्नुपर्ने बताएका छन् । ‘उहाँ (गृहमन्त्री बादल) लाई जनपक्षीय काम गर्नबाट रोक्न थालियो । अव उहाँलाई गृहमन्त्रीबाट अपदस्थ गर्न सक्छन् । त्यस अगाडि नै उहाँले विद्रोह गर्नुपर्छ र जनताको मुद्दामा संघर्ष गर्ने आँट गर्नुपर्छ ।’ किराँतीले भने, ‘त्यसो भएनभने उहाँकै राजनीतिक अवसान हुन्छ ।’
पछिल्लो पटक केही छापाहरुमा गृहमन्त्री बादलको काम कारवाही लोकतन्त्र विरोधी भएको भन्दै समाचारहरु प्रकाशमा आएकै बेला किरातीले विद्रोहका लागि सुझाव दिएका हुन् ।
तत्कालीन माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेपछि असन्तुष्ट बनेका किराँतीले ती दुई पार्टीको एकतापछि आफ्नो नेतृत्वमा माओवादी केन्द्रको पुनगर्ठन अभियान चलाएका थिए । अहिले उनको पार्टी संगठन निर्माणको चरणमा छ ।
किराँती नेतृत्वको पुनर्गगठित माओवादी, वैद्य नेतृत्वको माओवादी क्रान्तिकारी र विप्लव नेतृत्वको नेकपावीच पार्टी एकताका लागि पनि गृहकार्य भैरहेको छ ।






