लण्डन । नेप्लिज युथ नेट्वर्क युकेको एक भेलाले आगामी दुई वर्षकालागि सिमरन घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरेको छ।
समितिका सदस्यहरुमा श्रीकृत वाग्ले, निकिता खरेल, अपेक्षा न्यौपाने, सुवास पौडेल, मनस्वी भट्टराई, दीप्ता थापा, यशस्वी भट्टराई, प्रान्जल ओझा, सेजल अधिकारी, सम्राट कोइराला, नियती खरेल, बिराट कोइराला र श्रीना वाग्ले रहेका छन्।
सो कार्यसमितिमा रहेका सदस्यहरुको आगामी बैठकद्वारा कार्य विभाजन गरी भावी कार्यक्रमको क्यालेन्डर पनि घोषण गर्ने घिमिरेले बताइन् ।
सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेको सहयोगमा लण्डनको वेलिङमा आइतबार आयोजित कार्यक्रममा गीत, नृत्य, हाजिरीजवाफ सहित बिङ्गो पनि खेलाइएको थियो।
नेपाली मूलका बेलायती नेपाली सन्ततिहरुलाई आफ्नो पुर्ख्यौली थलोसंग जोडने, युकेमा रहेका नेपाली युवा युवतीहरूबीच चिनजान गराउने तथा अभिभावक र छोरा छोरीबिचको दूरी कम गर्ने उद्देश्यले सन् २०१५ मा नेप्लिज युथ नेट्वर्कको स्थापना गरिएको हो ।
कार्यक्रममा बोल्दै सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेका अध्यक्ष शेखर वाग्लेले विदेशी भूमिमा हुर्किरहेका नेपाली पुस्तालाई नेपाली भाषा र नेपाली संस्कृतिसंग परिचित गराउन अत्यन्तै आवश्यक रहेको बताए। उनले यसकालागि अभिभावक स्वयंले आफ्ना बालबालिकालाई प्रोत्साहित गराउनु पर्ने सुझाव दिए।
हालै बेलायतको बेडफोर्डबाट डार्टफोर्डमा बसाईं सरेका बिदुर घिमिरेले यस्ता कार्यक्रमको माध्यमबाट आफ्ना छोराछोरीले साथी बनाउन सकेको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए।
कार्यक्रमको सन्चालन श्रीकृत वाग्ले तथा सम्राट कोइरालाले गरेका थिए।
कार्यक्रमको आयोजना गर्न सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेका कार्यकारी सदस्य संगम भण्डारी लगायत अन्य पदाधिकारीहरुले सघाएका थिए। कार्यक्रममा झण्डै १२० जना अभिभावक तथा किशोरकिशोरीको सहभागिता थियो।






