पेटबाट निकाल्ने क्रममै बच्चाको टाउको छेडिएर मृत्यु
![]()
वीरगन्जको नेशनल मेडिकल कलेजमा नवजात शिशुको मृत्यु , लापारवाहीको कारण भएको भन्दै पीडित परिवारले आक्रोश जनाएका छन्।
उनीहरुले बच्चा मर्नुको कारण सोध्न डाक्टरसँग भेंट गर्ने माग राखेपछि सोमबार साँझ कलेज ब्यवस्थापनले सय भन्दा बढी प्रहरी बोलाई घट्ना दबाउन प्रयास गरेको छ। बारा जितपुरका अखिल सिंहले शनिबार बिहान आफ्नो श्रीमति सुमी सिंहलाई नेशनल मेडिकल कलेजमा भर्ना गराएका थिए। सोमबार बिहान प्रसवपीडा सुरु भएको सुमीलाई डेढ बजे प्रसवकक्षमा लगिएको थियो।
‘टाउको बाहिर आउन लागेको २ बजे भित्रबाट जानकारी आयो, त्यसपछि २ घण्टा कुनै खबर नआउदा हामी छटपटियौं, सोध्न जाँदा ३ पटक ढोकैबाट धपाईयो,’ अखिलले सुनाए, ‘साढे ५ बजे एक जना स्विपर निस्किेर भनिन् –छोरा भएछ्।’ बच्चा भइसकेको जनाउने पुर्जीमा सिंहबाट सही लिइयो। खुसीयाली मनाउँदै आफूहरु आफन्तहरुलाई टेलीफोन गर्न बाहिर निस्किनै लाग्दा भित्रबाट आमा रोएको सुनेर होस हराएको सिंहले बताए।
‘आमा रोईराख्नु भएको थियो,’ सिंहले भने, ‘कलेजका सिकारु नर्सहरुले मेरो आमाको काँखमा मरेको बच्चा दिएका थिए।’ पेटबाट निकाल्ने क्रममा प्रयोग गरिएको औजारबाट बच्चाको टाउको छेडिएर उसको मृत्यु भएको सिंहको आरोप छ। मृतक शिशुको टाउकोमा गहिरो चोट लागेको छ।
बच्चा जन्न्माउने बेलामा डाक्टर नै नआएर सिकारुहरु मात्रले सबै काम गर्दा यस्तो घट्ना भएको सिंहले बताए। बिहानदेखि वार्डमा डाक्टर नआएको उनको गुनासो छ। बच्चा मरेपछि डाक्टरलाई भेंट्न खोज्दा प्रशासन अस्पतालको शाखाका दिलीप साहले कलेज जिम्मेवार नभएको र डाक्टर भेंट्न नपाइने भनेर पञ्छिएको उनले बताए।
‘बच्चा मर्नुको कारण र उसको टाउकोमा घाउ कसरी लाग्यो भन्ने जान्न खोजेका थियौं,’ सिंहले भने, ‘अरु केही बोलेका थिएनौं, कलेजले फोन गरी बोलाउदा केही बेरभित्रै ५ गाडी प्रहरी आइपुग्यो।’ प्रहरीले अर्को दिन जिल्ला प्रशासन कार्यालयमा राखेको वार्ता औपचारिक्ताका लागि मात्र मंगलबार गरिए पनि सन्तोषजनक प्रतिक्रिया नपाएको सिंहले बताए। पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) केशवराज घिमिरेले आफूले पीडीत परिवारलाई कानूनी प्रक्रिया अनुसार आउन सल्लाह दिएको बताए।






