काठमाडौं–सीमांकनको विषयमा राजनीतिक सहमति गरी व्यवस्थापिका संसदमा सविधान संशोधनको प्रस्ताव लैजाने तयारीमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लागेका छन् ।
उनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चादेखि लिएर त्यससँग सरोकार राख्ने पक्षसँग पटक–पटक छलफल गर्दै आएका छन् । हिजै मात्र उनले मधेशी मोर्चाका एकघटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग छलफल गरेका छन्
उनले आफू भारत भ्रमणमा जानु अघि नै सविधान संशोधन सम्बन्धि प्रस्ताव संसदमा पेस गर्ने मधेशी मोर्चाका नेताहरुलाई आश्वासन दिँदै आएका छन् । यसअघि भदौं १० गते तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि त्यही भनेको छ ।
सविधान संशोधनको कुरा अगाडि बढाउनका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पर्खाइमा बसेका छन् । सभापति देउवा नेपाल बाहिर रहेका र उनी फर्किने वित्तिकै मधेशी मोर्चासँग छलफल गरि टुगों लगाउने तयारीमा रहेको जनाइएको छ । सभापति देउवा भदौ १५ गते नेपाल फर्किदैछ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भदौंको अन्तिमसता भारत भ्रमणमा जाने तयारी गर्दैछन् । यो १५ दिनको अवधिमा राजनीतिक सहमति गरी सविधान संशोधनको प्रकृया अगाडि बढ्ला त ? प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले भने, ‘हरेक पक्षसँग छलफल भइरहेको छ, प्रधानमन्त्री प्रचण्डले एकसातामा टुग्यांउने भन्नु भएकाले टुगिंने सम्भावना छ ।’
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि देउवा फर्किने वित्तिकै मधेशी मोर्चासँग छलफल गरि टुगों लगाउने प्रचण्डले आश्वासन दिएको बताए । ‘इच्छा शक्ति भयो भने दुई दिनमै सहमति गरी संशोधन प्रस्ताव लग्न सकिन्छ’ महतोले भन्नुभयो, ‘सत्ता पक्षले एमालेको बहाना बनाएर प्रस्ताव लैजान ढिला गर्न सक्छ तर हामीले एमालेको बाटो नहेरी पहिला सविधान संशोधनको प्रस्ताव संसदमा लैजान प्रचण्डलाई भनेका छौ ।’
यद्यपी प्रधानमन्त्री प्रचण्डले एमालेसँग पनि राजनीतिक सहमति जुटाई मात्र संशोधन प्रस्ताव लैजाने मुडमा छन् । उनले यो कुरा मधेशी मोर्चाका नेताहरुसँग पनि राखेका छन् । ‘सविधान संशोधन प्रस्ताव लैजान हामी तयार छौं तर एकपटक एमालेसँग पनि यस विषयमा छलफल गर्नुपर्ने देखिन्छ’ प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै अध्यक्ष महतोले भने । आफूहरुसँग भएको सहमति भारत जानुअघि गरुन् वा पछि गरुन् त्योसँग आफ्नो सरकार नरहेको बताउँदै अध्यक्ष महतोले भएका सहमति कार्यान्वयन हुनु मात्र आफूहरुको सरोकार रहेको बताए ।
तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले तीन बुँदे सम्झौता कार्यान्वयन गराउने जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको काँधमा रहेको बताए । ‘भारत भ्रमण गएर वा नगएर कसरी गर्नुहुन्छ उहाँहरुको जिम्मेवारी हो ।’ उनले भने, ‘हामी चाहन्छौ, समास्या चाँडै समाधान होस, उनले भने, हामीसँग कुरा गर्दा भदौंभित्र नै सविधान संशोधनको प्रस्ताव लैजाने भन्नुभएको छ तर हालसम्म कुनै प्रकृया शुरु नभएकाले शंका लागेको छ ।’






