बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास : सत्तारुढ दलकै नेता सरकारमाथि खनिए

काठमाडौं- नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले बिमस्टेक बैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले संविधानको मर्मविपरित र राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ती गरेको पनि दाबी गरेका छन् ।
नेता रावलले सरकारले राष्ट्रहितमा आघात पर्ने खालका काममा कुनै छलफल नगरिकन हठाहतमा किन निर्णय गरेका भन्दै प्रश्न समेत गरे ।

उनले भने,‘बिम्स्टेक वैठक सम्पन्न गरेकोमा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, सम्बन्धित मन्त्रालय सबैलाई हार्दिक धन्यवाद छ, तर केही निर्णयहरु गलत गरिएका छन्, त्यसैले मैले यसको बारेमा बोल्न बाध्य भएको हुँ, संविधानको हित विपरित र पार्टीको नीति विपरित कुनै सम्वाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हितविपरित यसरी सरकारले निर्णय गर्नुले सरकारात्मक सन्देश दिदैन् ।’

उनले अघि थपे,‘१८१५ सालमा नेपाल र अंग्रेजबीचको मलाउ युद्धमा तीन हजार नेपाली वीर गोरखालीहरुलाई युद्धबन्दी बनाईयो र बन्दी बनाइएका नेपालीहरुलाई अंग्रेजले गोरखा भर्ति केन्द्रको रुपमा विकास गर्यो, जुन कुरा नेपाली पराजयको संकेतका रुपमा स्थापना गरेको गोरखा भर्ति सन्धीको बिरोधमा मैले आधा शताब्धि खर्चि सकेको छु ।’

उनले भने,‘नोभेम्बर ९ मा १९४७ राणा, बेलायत सरकार र भारतबीच भएको सहमतिले हाम्रो राष्ट्रियतामाथि प्रश्न खडा गरिरहेको छ, देश र जनताको हित विपरित भए गरिएका कुनैपनि सम्झौताको बिरोधमा बोल्न मलाई कतै कसैले रोक्न सक्दैन ।’

उनले अघि थपे,‘म एकजना पार्टीको सिपाई हुनुपूर्व देशको नागरिक हुँ, पार्टीको भन्दा देशको बारेमा चिन्ता गर्नुपर्छ भन्ने मानिस हुँ, सविधानको हित विपरित र नेपाली पराजयको प्रतिकको रुपमा स्थापना गरिएको गोरखा भर्ति सन्धीको बिरोध गर्नु मेरो कर्तव्य हो, यस विषयमा मलाई कसैले किन बोलिस भन्ने कसैलाई अधिकार पनि रहँदैन । सरकारले गरेका गलत कार्यमा आलोचना र राम्रा काममा साथ दिन आग्रह गर्दछु ।’