काठमाडौं , १९ चैत । पूर्वयुवराज पारस शाहले थाइल्याण्डमा लामो समय बिताए । गम्भीर बिरामी भएर पुनर्जीवन पाए । जेलमा समेत कोचिए । तर, वर्षौंपछि विदेशमा हण्डर खाएर बिहीबार काठमाडौं फर्केका पारसले बुबाआमा, पत्नी र छोराछोरीसँग भेट गर्नुको साटो होटलमा बास बस्नुपरेको छ ।
पत्नी हिमानी र छोराछोरीहरु बस्दै आएको निर्मल निवास र बुबाआमा ज्ञानेन्द्र-कोमलका लागि छुट्याइएको नागार्जुन दरबार अब पारसका लागि बिरानो बनेको दृश्य विहीबारको घटनाबाट देखिएको छ ।
थाइल्याण्डबाट नेपाल फर्केका पारस निर्मल निवास नगई एयरपोर्टबाट सीधै चण्डोलस्थित होटल कुण्डलिनीमा बास बस्न गएका छन् ।
पत्नी र बुबासँग पारसको सम्बन्ध चिसो भएको संकेतका रुपमा उनको होटल बसाइलाई लिइएको छ । थाइल्याण्डमा अर्कै प्रेमिकासँग बस्न थालेपछि पारसलाई हिमानीले वास्ता गर्न छाडेकी छिन् ।
विगतमा श्रीमानको पिटाइ र घरेलु हिंसाबाट वाक्क भएकी हिमानीलाई ससुराले संरक्षण गरेर निर्मल निवास दिएको चर्चा छ । थाइल्याण्ड जानुअघि पारस शाह हिमानीसँगै निर्मल निवासमै बस्दै आएका थिए ।
तर, स्रोतले भने पारस विहीबार निर्मलनिवास नजानुको कारण अरु केही नभएर ज्योतिषीले दिएको कुनै सुझाव दिएको हुनुपर्ने जिकिर गर्यो ।






