साग स्वर्णपदक विजेता खेलाडी सम्मानित

keshabकाठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक हात पार्ने खेलाडीलाई आज नगद पुरस्कारसहित सम्मान गरेको छ ।

राखेपले अहिलेसम्म नेपालका लागि सागमा स्वर्ण पदक हात पार्ने सबै एक सय तीन खेलाडीलाई जनही रु २५ हजारसहित सम्मान गरेको हो ।

त्यस्तै यसै महिनादेखि सागका स्वर्णपदक विजेता खेलाडीलाई मासिक भत्तास्वरुप रु २५ हजारसमेत दिने निर्णय भएको एक कार्यक्रममा बताइयो ।

स्वर्णपदक हात पार्ने खेलाडीमा एथ्लेटिक्सका बैकुण्ठ मानन्धर, बक्सिङका चित्रबहादुर गुरुङ, तेक्वान्दो खेलकी सङ्गीना वैद्य, दीपक विष्ट, निराज श्रेष्ठ, निर्मल श्रेष्ठ र रेणुका रानामगर छन् ।

त्यसैगरी करातेका सुनिल लामा, विनोद शाख्य, राजन भण्डारी, उसुकी बिनिता महर्जन, बीना लामा खड्का, राजकुमार रसाइली लगायतका खेलाडी छन् ।

उनीहरुलाई (स्वर्णपदक जित्ने) यसै महिनादेखि मासिक भत्ता रु २५ हजारसमेत दिने निर्णय गरेको राखेप सदस्यसचिव केशवकुमार विष्टले बताउनुभयो ।

उहाँले सागमा स्वर्णपदक, रजत र कास्य पदक हात पार्ने खेलाडीलाई क्रमशः मासिक रु पाँच हजार, रु तीन हजार र रु १५ सय भत्ता दिने प्रस्ताव गरिएको बताउनुभयो ।

त्यस्तै, राखेपले यसपटकदेखि दक्षिण एसियाली खेलकुदमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई रु पाँच लाख, रजत जित्नेलाई चार लाख र कास्यपदक हात पार्ने खेलाडीलाई रु तीन लाख दिने घोषणा गरेको छ ।

एसियाली खेलकुदमा भने स्वर्णपदक जित्नसके २५ लाख, रजत जिते १५ लाख र कास्यपदक हात पार्ने खेलाडीलाई रु १० लाख दिने राखेपले बताएको छ ।

ओलम्पिक प्रतियोगितामा नेपाली खेलाडीले स्वर्णपदक हात पार्न सके रु एक करोड, रजतलाई ७५ लाख र कास्यपदक जित्ने खेलाडीलाई रु ५० लाख दिने निर्णय भएकोे छ ।

सोही खेलमा स्वर्ण, रजत र कास्य जित्ने खेलाडीलाई क्रमशः रु २५, १५ र १० हजार मासिक भत्ता दिने भएको छ । एसियन गेम्समा भने स्वर्ण जित्नेलाई रु १५ हजार, रजतलाई रु १० हजार र कास्य जित्ने खेलाडीलाई रु पाँच हजार मासिक भक्ता दिने पहल भइरहेको सदस्यसचिव विष्टको भनाइ छ ।