बेलायतका लागि नेपाली राजदूतले बुझाए माल्टाका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

लण्डन ।बेलायतको लागि २२ औं नेपाली राजदूत एबम माल्टाका समेत राजदूत रहेका राजदूत ज्ञानचन्द्र आचार्यले गणतन्त्र माल्टाका राष्ट्रपति डा जर्ज भेल्लासमक्ष ओहोदाको प्रमाण पत्र पेश गरेका छन् ।

राष्ट्रपतिको दरबार भ्यालेटामा बिहीबार आयोजित एक विशेष समारोहमा राजदूत आचार्यले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट माल्टाका राष्ट्रपति तथा माल्टाका नागरिकहरूको सुस्वास्थ्य र सुखका लागि पठाइएको सन्देश सुनाएका थिए ।

साथै राजदूत आचार्यले नेपालको पछिल्लो राजनीतिक, सामाजिक र आर्थिक विकास तथा वर्तमान सरकारको विकासका प्राथमिकताबारे जानकारी दिए ।

ओहोदाको प्रमाण पत्र ग्रहण गर्दै राष्ट्रपति भेल्लाले आचार्यलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए । साथै राष्ट्रपति भेल्लाले आचार्यको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा पर्यटन, शिक्षा, रोजगारका अवसर तथा माल्टास्थित नेपाली समुदायमार्फत आपसी सम्बन्ध अझ विस्तार गर्न दुवै सहमत भएका छन् ।उक्त समारोहमा राजदूत आचार्य पत्नी सुनिता आचार्य र दूतावासकी तृतीय सचिव पुजन पाण्डे पनि सहभागी थिए ।