लण्डन — नेपालकै पहिलो होमस्टे गाउँ तथा पहिलो पर्यटकीय गाउँका रूपमा परिचित स्याङ्जाको सिरुबारी गाउँ कला, संस्कृति, परम्परा र इतिहास सिकाउने महत्वपूर्ण थलोका रूपमा चिनिन्छ। यही गाउँबाट बेलायतमा बसोबास गर्ने दाजुभाइ तथा दिदीबहिनीहरूले सन् २०२५ मा स्थापना गरेको संस्था सिरुबारी नासा यूकेले एक विशेष सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको सुरुवात मेष तामाङको पाइपर धुनमार्फत अतिथिहरूको स्वागत गर्दै गरिएको थियो।
समाजका अध्यक्ष डेबिड गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिब धनबहादुर गुरुङले सबै सहभागी र पाहुनाहरुलाई स्वागत गर्दै कार्यक्रम संचालन गरेका थिए।
अगस्ट ९ तारिक आइतबार साउथ हार्र्यो स्थित गोल्डेन सिप रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा रिडिङ बरो काउन्सिलकी काउन्सिलर प्रतीक्षा गुरुङ तथा सोपाल समाज यूकेको निमन्त्रणामा बेलायत आएका सिरुबारीका लोकप्रिय गायक “हिरा” राजु गुरुङ र गायिका शर्मिला गुरुङलाई विशेष सम्मान गरिएको थियो।
सम्मान ग्रहणपछि समानित अतिथिहरुले सिरुबारी नासा जस्तो प्रतिष्ठित संस्थाको हिस्सा बन्न पाउनु गर्वको विषय भएको बताउँदै आफ्ना उपलब्धिहरूप्रति देखाइएको सम्मान र प्रशंसाप्रति कृतज्ञता व्यक्त गरेका थिए। साथै, यस प्रकारको मायाले आगामी दिनहरूमा समुदायको हितमा अझ समर्पित भएर काम गर्न प्रेरणा मिल्ने बताए।
कार्यक्रममा सोपाल समाज यूकेका संस्थापक अध्यक्ष विजय गुरुङले भाबुक गित तथा माया गुरुङले कविता प्रस्तुत गरेका थिए
कार्यक्रमा सोपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङ तथा तमु धीं लण्डन इकाइका अध्यक्ष भरत गुरुङ एबम सिरुबारी नाशा युके परिवार एबम दाजुभाई दिदीबहिनी हरुको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष डेविड गुरुङले सिरुबारी नासा यूके बेलायतमा बसोबास गर्ने सिरुबारीवासीहरूको साझा संस्था भएको बताए।उनले सिरुबारी नासा यूकेलाई संस्कार र एकताको प्रतीकका रूपमा अगाडि बढाउँदै सबै सिरुबारीवासीलाई एकतामा बाँध्ने साझा संस्थाका रुपमा लिन सबै संग आग्रह गरे । संस्थाले समुदायबीच एकता, सहकार्य र सांस्कृतिक पहिचान जोगाउने उद्देश्यसहित विभिन्न सामाजिक, सांस्कृतिक तथा परोपकारी कार्यक्रमहरू आयोजना गर्दै जाने समेत बताए।
कार्यक्रममा सहभागीहरूले सिरुबारीको पहिचान, संस्कृति र एकतालाई प्रवासमा समेत सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
सम्मान ग्रहणपछि कलाकारहरूले कार्यक्रममा सहभागीहरूलाइ आफ्नो सांगीतिक प्रस्तुतिले भरपुर मनोरंजन गराएका थिए ।







