काठमाडौं – नेपाल राष्ट्र बैंकबाट मस्यौदा भएर गएको विधेयक नै आउनुपर्नेमा सबैको मत रहे पनि बैंक तथा वित्तीय संस्थाहरूको अध्यक्ष र सञ्चालकसमेत रहेका केही सांसदको अवरोधका कारण बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) अलपत्र परेको छ । एमालेका सांसद तथा बैंकका लगानीकर्ताका कारण सो विधेयक अलपत्र परेको हो ।
सो विधेयक अलपत्र पार्नेमा एमालेका सांसद रहेका सांसद विरेन्द्रकुमार महत्तो , काँग्रेस सांसद उदयशम्सेर राणा, उदय नेपाली श्रेष्ठको स्वार्थमा अर्थ समितिका सभापति प्रकाश ज्वाला समेत परेका कारण विधेयक अड्किएको हो ।
दसैंअघि नै सो विधेयक सदनमा पेस गर्ने तयारी गरिएपनि ती सांसदहरूले चलखेल गरेका कारण रोकिन पुगेको केन्द्रीय बैंकका अधिकारीले बताएका छन् । यसअघि व्यवस्थापिका–संसदको अर्थ समितिले पूर्ण सदनमा सो विधेयक पेस गरे पनि चौतर्फी रूपमा विरोध आएपछि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुनः छलफलका लागि समितिमै फिर्ता पठाएका थिए । तर पौडेलको नियत भने बैंक सञ्चालकको योजनामा नै काम गर्ने रहेको थियो । चौतर्फी विरोध भएपछि मात्रै उनले समितिमा नै फिर्ता पठाउन वाध्य भएका थिए ।
तर, करिब तीन महिनासम्म समितिमा अड्किएपछि बाफियाबारे पुनः छलफल अगाडि बढेको थियो । समितिले पूर्वगभर्नर र बैंक तथा वित्तीय संस्थाहरूका सरोकार भएका व्यक्तिसँग आवश्यक परामर्श गरेर विधेयकमा संशोधन गरी सदनमा पेस गर्ने अपेक्षा गरिएको थियो । तर, समितिले पूर्वगभर्नर र बैंक तथा वित्तीय संस्थाका स्टेकहोल्डरहरूसँग छलफल गरेको दुई हप्ता बित्न लाग्दासमेत विधेयकबारे कुनै टुंगो लाग्न सकेको छैन ।






