लन्डनबाट कतार पुगेर विश्वकपका विशिष्ठ पाहुनालाई उत्कृष्ट खाना खुवाउने को हुन् विनोद बराल ?

शिब भण्डारी

लण्डन । फुटबलको कुम्भमेला फिफा विश्वकप २०२२ भर्खरै सम्पन्न भएको छ । नोभेम्बर २१ बाट सुरु भएको  विश्वकपको फाइनल १८ डिसेम्बरमा समापन भएको छ । अर्जेन्टिनाले विश्वकपको उपाधि  जितेको छ ।

कतारमा सम्पन्न विश्वकपमा भएका विभिन्न गतिविधिले सबैको ध्यान केन्द्रित गर्यो।यसै बीच विश्वभरका फ्यानहरूलाई चकित पर्दै  बिनोद बरालले कतारको एउटा सेन्टर किचेनमा अतिथिहरुका लागि आफ्नो खानाले स्वागत गर्दै  थिए ।

५५० जना सहयोगी सहित एक हजार एकसय जना कर्मचारीको नेतृत्व लिएर विनोदले यो विश्वकप सुरु भएदेखि नै विभिन्न विशिष्ठ व्यक्तित्वहरूलाई उनीहरूको मन पर्ने खाना खुवाए । विश्वकप फुटबल पहिलोपटक आयोजना गर्ने अवसर पाएको खाडी मुलुक कतारले यो मौकालाई फुटबलमा मात्र सीमित गरेन । कतारले यो प्रतियोगितालाई आफ्नो संस्कृति र खानालाई संसारभरि फैलाउने अवसरका रूपमा पनि लियो । कतारको त्यो सपनालाई पूरा गराउन विशिष्ठ पाहुनाहरूलाई उत्कृष्ट खाना खुवाएर सहयोग गरे विनोदले  ।

लण्डनमा कार्यरत नेपाली सेफ र खाद्य अनुसन्धानकर्ता विनोदले नेतृत्व गरेको  टोलीले विश्वकपको विभिन्न खेलमा टर्कीका राष्ट्रपति रेसेप तैयब अर्दवान, प्रसिद्ध अमेरिकी अभिनेता मर्गन फ्रिम्यानदेखि फुटबलका बेताज बादशाह डेभिड वेकहम लगायत अनेकन विशिष्ठ तथा अति विशिष्ठ व्यक्तित्वहरूलाई खाना खुवाए ।

विश्वकपका विशिष्ठ तथा अति विशिष्ठ पाहुनाहरूलाई के खुवाउने भन्ने मेनु (परिकारहरूको सूची) तयार गर्नका लागि विनोद र उनको टोली दुई महिना अगाडि नै कतार पुगेको थियो । विनोदले कतारमा सबैभन्दा मन पराइएको र सबैभन्दा धेरैपटक खाइने परिकारका बारेमा अनुसन्धान गरी त्यसबाट त्यहाँको खानपानका बारेमा धेरै ज्ञान राखेर ती खानाहरु तयार गरे । कतारका परिकारहरू, त्यहाँ सबैभन्दा रूचाइने भारतीय उपमहाद्विपका खाना तथा अन्तर्राष्ट्रिय खेल भएकाले पश्चिमी मुलुकका खानाहरूका आधारमा परिकारको मेनु बनायौँ,’उनले भने ।

पोखरामा जन्मिएका विनोद औपचारिक शिक्षा लिएर यो पेशामा अन्तर्राष्ट्रिय रूपमा नै माथिल्लो तहमा पुग्ने थोरै नेपालीमध्येमा पर्छन् । उनीअहिले अष्ट्रियाको इभेन्ट म्यानेजमेन्टसम्बन्धी मल्टिनेशनल कम्पनी गोर्मेट इन्टरटेन्टमेन्ट ग्रुप (डिएण्डको इन्टनेशनल) को लन्डनस्थित  रिसर्च एण्ड डेभेलपमेन्ट तथा इनोभेसन किचेन डिपार्टेमन्टको प्रमुख हुन् ।

यो कम्पनीले नै विश्वकप फुटबल प्रतियोगिताका लागि खानासम्बन्धी अनुसन्धान गर्ने, मेनु तयार गर्ने र विशिष्ठ तथा अति विशिष्ठ पाहुनाहरूलाई खाना क्याटरिङ गर्ने काम पाएको थियो । डिएण्डको वेवसाइटका अनुसार यो कम्पनीले ७६ वटा एयरलाइन्स तथा तिनका एक्ज्युकेटिभ लाउन्जमा क्याटरिङको काम गर्दै आएको छ ।

विनोद भन्छन्, ‘विश्वकप फुटबल २०२२ को पार्टनर कतार एयरलाइन्समा हाम्रो कम्पनीकै क्याटरिङ थियो । त्यही नाताले हामी विश्वकप फुटबलसँग जोडिएका हौँ ।’ कतारमा खाना र परिकारका बारेमा प्रारम्भिक अनुसन्धानपछि विनोदको टोलीले कतारको खानाका बारेमा त्यहाँको सबैभन्दा सम्मानित सेफ आइसा अल तमिमिसँग औपचारिक तालीम समेत लिएको थियो ।

यसले आफ्नो आधिकारिक स्वादलाई प्रवर्द्धन गर्ने काममा कतार सरकार कति गम्भीर छ भन्ने पनि देखाउँछ । यो तालीमबाट विनोदको टोलीलाई पनि कतारको आधिकारिक स्वाद आफ्ना परिकारको अनुसन्धानमा जोडन सजिलो भयो ।

उनी भन्छन्, ‘अनि हामी विभिन्न परिकारहरूको तयारीमा लाग्यौँ । यसमा खानाको तयारी, त्यसको विकास, त्यसको स्वाद तथा परिकारको प्रस्तुतीकरण एवम् परीक्षणका कुराहरू समावेश थिए  । एउटा कार्यशालाका मार्फतबाट हामी स्वाद तथा परिकारको प्रस्तुतीकरणका विषयमा विभिन्न विशेषज्ञबाट प्रतिक्रिया पनि लिन्छौं।’

कतार सरकार तथा विश्वकपका अधिकारीहरूले विनोदको टोलीले तयार गरेका खानाको गुणस्तर तथा स्वाद हेरेर/चाखेर स्वीकृति दिएपछि मात्र खानाको मेनु तयार भएको थियो । उनी भन्छन्, ‘होस्ट कन्ट्री (आतिथ्यता गर्ने राष्ट्र) भएका नाताले आफ्नो खाना तथा स्वादसँगै स्थानीय तरकारी, मरमसला तथा मासुलगायतका उत्पादनको प्रवर्द्धन गर्ने कतार सरकारको चाहनालाई पनि परिकारहरू तयार गर्दा हामीले सम्मान ग-यौं ।’

फुटबलको खेल हेर्न आउने विशिष्ठ तथा अति विशिष्ठ पाहुनाहरूका बारेमा बिनोदले नेतृत्व गरेको टोलीलाई पहिले नै सूचित गरिन्थ्यो । त्यही सूचनाका आधारमा खाना तयार गरिन्थ्यो । स्थानीय तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै तापक्रम कम बनाइएको गाडीमा राखेर खानालाई स्टेडियममा पुर्‍याउने गरिन्थ्यो ।

मेनुमा जुन दिन जुन देशको खेल हुन्छ ती देशका एक/एक परिकार अनिवार्य समावेश गरिन्थ्यो । उदाहरणका लागि बेलायतको खेल हुँदैछ भने त्यहाँको सबैभन्दा प्रिय खाना फिस एण्ड चिप्स (माछा र तारेको आलु) र  मोरक्कोले खेलेको दिन ताजिन र खुसखुस बनाएको बिनोदले सुनाए ।

‘साउदी अरेबियाको राजपरिवार, टर्कीका राष्ट्रपति, भारतका उपराष्ट्रपति जगदिप धनकर,  अमेरिकी अभिनेता मर्गन फ्रिम्यान, प्रख्यात फुटबलर डेभिड वेकहम, आर्सनल क्लबका म्यानेजर आर्सी वाग्नरलगायतका विशिष्ठ व्यक्तिहरूले हामीले तयार गरेको खानाको उच्च प्रशंसा गरे,’ विनोदले भने।

विनोदको ज्ञानका कारण उनलाई अन्तर्राष्ट्रिय परिकारको दुनियामा ‘मसला पण्डित’ भनेर पनि चिनिन्छ । अनि खानपान बाहेकका क्षेत्रमा गरेका विभिन्न योगदानका कारण सेफभन्दा अलि धेरै काम गर्ने मानिसका रूपमा पनि बिनोदको परिचय बनेको छ ।

यो क्षेत्रमा २० वर्षभन्दा बढी काम गर्दा उनले नेपाली परिकारलाई विश्व मानचित्रमा स्थापित गर्ने अनेक काम गरेका छन् । विनोदले लण्डनमा खोलेको रेष्टुरेन्ट मःमः एण्ड रोटी पनि हो । नेपाली खाना भारतीय खानाभन्दा धेरै फरक हो भनेर अभियान चलाउने विनोदले कतारमा विश्वकप फुटबल हेर्न आउने संसारका विशिष्ठ व्यक्तित्वहरूलाई खाना चखाएर ‘खाना कूटनीति’ को  अनुभव समेत लिए ।

लण्डन नेपाल न्युजसगंको कुराकानीमा लण्डनस्थित युवा उद्यमी एवं ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका अनररी गुडविल एम्बेसडर समेत रहेका बिनोद बरालले आफुले विश्वलाई खानाको माध्यमबाट जोड्न चाहेको बताए ।

यो विश्वकप र यस्ता अन्य कार्यक्रममार्फत विनोदले चलाएको खाना कूटनीतिले नेपालको छविलाई विश्व मानचित्रमा अझै माथि उठाउन बल पुग्ने विश्वास गरिएको छ ।

बेलायतस्थित समाजसेवी तथा व्यवसायी नविन गुरुङले विनोदको कामलाई  उदाहरणीय भन्दै प्रशंसा गरे । ‘विश्व कप जस्तो  ऐतिहासिक अवसरमा एक नेपाली सेफले संसार भरिका विशिष्ट व्यक्तिहरुलाई खाना खुवाउने अवसर पाउनु आफैमा गौरवको कुरा हो,’ उनले भने।