लण्डन । मतदान मिति नजिकिँदै गर्दा एनआरएनए यूके उपाध्यक्षका प्रबल दाबेदार पवन शर्मा मतदाता रिझाउने अन्तिम कसरतमा जुटेका छन् । साना चुनावी सभा र कार्यकर्ता भेटघाटमा व्यस्त रहँदै आएका उनी अब घरदैलो कार्यक्रमलाई जोड दिँदै छन् ।
गैर आवासीय नेपाली संघ यूकेको यही जुलाई ३१ मा हुन गइरहेको निर्वाचनमा उपाध्यक्ष पदमा मिडल्याण्डबाट उम्मेद्वारी दिएका सफल व्यवसायी तथा बौद्धिक व्यक्तित्वका धनी सक्रिय समाजिक अभियन्ता पवन शर्माको पक्षमा जनसमर्थन व्यापक बन्दै गएको हो ।
एनआरएनमा सम्पूर्ण गैर आवसीय नेपालीहरूको पहुँच पुर्याउने र अपनत्व अनुभूति गराउने उदेश्यका साथ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका उनले आफ्नो पक्षमा व्यापक जनसमर्थन प्राप्त भएको लण्डन नेपाल न्यूजलाई बताए ।
मिडल्याण्डमा मात्र हैन, एनआरएन अभियानमा नै एक सुपरिचित शर्मा मिडल्याण्डका साझा उम्मेदवार मध्यका एक हुन्। युकेका संघसंस्थाहरूसंग समन्वय गर्दै आम जनमानसमा गैर अवासीय संघको महत्व दर्शाउँदै सदस्य बनाउने अभियानमा सक्रिय समेत भएका उनलाई उपाध्यक्ष पदमा जित्ने दाबेदारको रुपमा हेरिएको छ ।
एनआरएनए युकेको २०१७–१९ कार्यसमितिमा मा उनी मिडल्याण्डको प्रतिनिधित्व गर्दै सदस्य पदमा निर्वाचित भएका थिए। उनका विचार, सल्लाह सुझावले तत्कालीन कार्यसमिति निकै चर्चा र महत्त्व पाएको थियो। उनले एनआरएन युकेको राज्यसमितिहरूको गठनको लागि दबाब महत्वपूर्ण भूमिका खेलेका थिए। सन २००२ मा अष्ट्रेलियाबाट होटल म्यानेजमेन्टको अध्ययन सकाए नेपालीमा केही बर्ष कामको अनुभव संगाल्दै शर्मा २००५ मा युके आएका हुन्।१६ बर्षअघि विद्यार्थी भिसामा यूके आएका उनी एक सफल सर्टिफाइड चार्टड एकाउन्टेन्ट समेत हुन् ।
सन २०१३ मा लण्डन स्कुल अफ बिजिनेस एण्ड फाइनान्स चार्टर्ड एकाउन्टेन्टको अध्यन पूरा गरे लगत्तै उनी होटल तथा रेस्टुरेन्ट व्यवसाय आवद्ध छन्। साथै रिक्रुर्टमेन्ट व्यवसायमा पनि आवद्ध रही नेपाली तथा गैर नेपाली समुदायलाई रोजगारी दिलाउन महत्वपूर्ण योगदान पुर्याउँदै पनि आएका छन्।
समाजलाई मिलाएर लैजान सक्ने पात्रको रुपमा परिचय कमाएका उनले आफूले हालसम्म गरेको मिहेनत र समाजसेवाको कदर गरी उपाध्यक्ष पदमा विजयी गराउन मतदाताको साथ र सहयोग पाएको बताए । उनले भने, ‘मेरो हालसम्मको लगाव, कटिवद्धता र कामले गर्दा नै होला, नेपालीहरुले ठूलो साथ र सहयोग दर्शाइरहनुभएको छ, म अत्यन्तै उत्साहित छु । अब एनआरएनएमार्फत सेवामूलक नयाँ यात्रा शुरू हुनेछ ।’ बेलायतका विभिन्न ठाँउहरुमा पुगेर नेपालीहरुको समर्थन बटुलेका उनले चुनाव जित्नेमा ढुक्क रहेका बताए । उनको मुख्य एजेन्डा भनेकै एनआरएनएमा नेपालीहरुको सदस्यताको प्रक्रियालाई सहज बनाउने हो । ‘अहिले एनआरएनएको सदस्यता प्रक्रिया अलिक असहज छ, यसलाई सजिलो बनाउने मेरो प्रतिबद्धता छ,’ उनले भने, ‘साथै विद्यार्थीबाट यूकेको आएको कारण सबै संघर्षहरु मनमा राख्दै विद्यार्थीको हकहितको निम्ती डटेर काम गर्नेछु ।’ विद्यार्थीले यहाँ पाउने दुःख र व्यवधानहरुलाई सरलीकरण र समाधान गर्न आफू दिनरात मिहेनत गर्ने बताए । सबै बेलायतमा रहेका नेपालीहरुलाई समेटेर सबै व्यक्तिहरु अट्ने एनआरएनए बनाउन खोजेको भन्दै उनले आफ्नो यस एजेन्डामा मतदाताको साथ रहेको बताए ।
समाजिक सेवामा विशेष केन्द्रित शर्माको समाजिक संघ संस्थाहरूसंग आवद्ध रहेर काम गरेको फेरहिस्त निकै लामो छ। पिटरबरो नेपाली समाजका पूर्वअध्यक्ष तथा पुर्व ट्रस्टी शर्मा समाजलाई आर्थिक श्रोत जुटाउने अभियन्ता र अवधारणाकारको रूपमा परिचय बनाएका छन् । सम्पूर्ण मिडल्याणडलाई एक्यवद्ध गर्ने साझा नेपाली समाजका वर्तमान ट्रस्टी शर्माले साझा नेपाली समाज तथा पिटरबरो नेपाली समाजलाई च्यारिटीमा दर्ता गर्न नेतृत्वदायी भूमिका निर्वाह पनि गरेका थिए। उनले साझा नेपाली समाजमा २०१३–२०१५ सम्म महासचिवको कार्यभार पनि सम्हालेका थिए। शर्माको समाजिक सक्रियता र संलग्नता मिडल्याण्ड भन्दा बाहिर पनि फैलिएको छ। गैर नाफामूलक संस्था यूके नेपाल फ्रेण्डशिप सोसाइटीका बोर्ड अफ डाइरेक्टर शर्माले यस संस्था मार्फत कोरोना कालमा १० हजार पाउण्डको आर्थिक सहयोग जुटाएर युकेको ग्लोस्टरसायर क्षेत्रमा गोर्खा भेट्रान तथा भल्नरेबल व्यक्तिहरू माझ राहत पुर्याएका थिए। बुटवल नेपाल मूलघर भएका शर्मा मिडल्याण्डको पिटरबरोमा बसोबास गर्छन्।
उनले २०१५ को महाभूकम्प पश्चात पिटरबरो र आसपासमा सहयोग जुटाउन निकै ठूलो भूमिका निभाएका थिए। महाभूकम्प जस्तो विपदको समयमा काशी शर्माको नेतृत्वमा रहेको शान्ति नेपाली समाजको संयोजन र राजु कंडेलको नेतृत्वमा रहेको साझा नेपाली समाजको सक्रिय संलग्नतामा ४५ लाख रुपैयाँ बराबरको राहत सहयोग जुटाइ गोर्खाको बारपाक गाउँ सम्म पुर्याउन साझा नेपाली समाजको महासचिवको हैसियतमा उनले उल्लेखनीय योगदान पुर्याएका थिए।
नेपालको राजनीति र समाजिक जीवन शैलीमा गहिरो चाख राख्ने र अध्यन गर्ने शर्मा नेपाली कला संस्कृतिमा पनि उत्तिकै चाख राख्छन् र माया गर्छन्। केही म्यूजिक भिडियोहरूमा पनि अभिनय गरेका शर्माले नेपालबाट बाट नेपाली कलाकारहरूलाई युके आमन्त्रण गरेर आफ्नो नेतृत्व र सहभागीतामा थुप्रै सांगीतिक कार्यक्रमहरूको आयोजना र प्रबर्द्धन गर्ने काम पनि गर्दै आएका छन्।
अनलाइनबाट हुने मतदान प्रक्रियामा सहभागी भएर शर्माले आफूलाई मत दिइ निर्वाचित गराउन यूके निवासी एनआरएनएका सबै पञ्जीकृत सदस्यहरुलाई आग्रह गरेका छन् ।






