लण्डन । गैरआवासीय नेपाली संघ, एनसीसी यूकेको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएकी युवा स्वास्थ्यकर्मी सपना (इन्दिरा) खनियाँले आफ्नो चुनावी तैयारी रणनैतिक बनाउँदै मतदातामाझ पुगेकी छन् ।
एनआरएनमा युवाहरुको आकर्षण र सहभागिता वृद्धि गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको बताउँने उनले आफ्नो जितको सुनिश्चितताको लागि मतदाताको घरदैलामा पुगिरहेको जानकारी दिइन् ।
कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएपछि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै खनियाले एनआरएनएमा युवाहरुको संख्या उल्लेखनीय हुन नसकेको भन्दै उक्त संख्या वृद्धि नै आफ्नो मुख्य अभियान रहने बताएकी हुन् ।
बर्न्टओक नेपाली समाजकी सक्रिय सदस्य सपनाले स्वास्थ्य क्षेत्रमा रहेर काम गर्दा आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई एनआरएनए मार्फत बेलायतवासी नेपाली समुदायमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कोभिड महामारीको समयमा भूतपूर्व गोर्खा बुवा आमाको घर, घर मै गएर सेवा पुर्याएकी गरेकी उनी समाजसेवामा वफादार नेपाली हुन् ।
साना बाबु नानीलाई नेपाली भाषा सिक्ने र सिकाउने वातावरण एनआरएन मार्फत नै मिलाउन पहल गर्ने, विदेशमा रहेका नेपालीहरुलाई विदेशबाटै नेपालको चुनावमा भोट दिन पाउने अधिकार स्थापनाका लागि संघर्ष गर्ने, गैरआवासीय नेपाली संघप्रति आकर्षण वृद्धि गर्दै आम प्रवासी नेपालीहरु संघको सदस्यता लिन लालायित हुने अवस्थाको सिर्जना गर्ने उनको एजेन्डाहरु हुन् ।
आफुले एनआरएनए मार्फत समाजसेवाको दायरा फराकिलो बनाउँदै अघि बढ्ने भन्दै यस अभियानमा साथ दिन सबै मतदातालाई आग्रह गरिन् ।
यही जुलाई ३१ गते एनआरएनए यूकेको नयाँ नेतृत्वको लागि चुनाव हुन गइरहेको छ । अनलाइनमार्फत चुनाव सम्पन्न गर्नेगरी निर्वाचन मण्डलले चुनावी तयारी अघि बढाइरहेको छ । चुनावको मिति नजिकिदै गर्दै नेताहरुले आफ्नो दौडाहा तिव्र बनाउँदै लगेका छन् ।






