काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणमा गएयता बस्न नसकेको मन्त्रीपरिषदको बैठक दोस्रो पटक पनि सरेको छ ।
प्रधानमन्त्री दाहालले आइतबार दिउँसोका लागि आह्वान गरेको मन्त्रिपरिषद बैठक सोमबार सारिएको छ । आइतबारका लागि आह्वान गरिएको बैठकमा व्यवस्थापिका संसदमा प्रक्रियामा रहेको संविधान संशोधन फिर्ता लिने र नयाँ संविधानको प्रस्ताव पारित गर्ने तयारी थियो ।
तर, सरकारका उपप्रधानमन्त्रीहरुको वरीयता विवाद र नेपाल प्रहरीको प्रमुख (आईजीपी) नियुक्तीको विषयमा कुरा नमिल्दा आइतबार बोलाइएको बैठक पनि स्थगित हुन पुगेको हो ।
नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र राप्रपा अध्यक्ष तथा उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाबीचको वरीयता विवाद चुलिँदा मन्त्रीपरिषद बैठक समेत प्रभावित बन्न पुगेको हो । अर्कातर्फ, नेपाल प्रहरीको आईजीको विषयमा समेत सत्तासिन दलमा विवाद उत्पन्न भएको छ ।
यद्यपी, कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीबाट सरकारमा सहभागी उपप्रधान तथा गृहमन्त्री निधिलाई सम्झाएपछि निधि तेस्रो वरीयता मान्न तयार भएको र निधिले सिफारिस गरेको व्यक्ति नेपाल प्रहरीको आईजी नियुक्ति गर्ने सहमति भएको स्रोतको दाबी छ ।
एक मन्त्रीका अनुसार मन्त्रीपरिषदको सोमबार बैठक बसेमा नयाँ आइजी नियुक्तिका विषयमा छलफल हुने तथा प्रक्रियामा रहेको संविधान संशोधन फिर्ता लिने र नयाँ संविधान संशोधनको प्रस्ताव पारित गर्ने सरकारको तयारी रहेको छ ।
स्रोतका अनुसार कार्यसम्पादन क्षमतामा डीआईजी प्रकाश अर्याल एक नम्बरमा रहेको तथा सरकारको कार्यकारी अधिकारको प्रयोग गर्दै अर्याललाई आईजी बनाउने सरकारको तयारी रहेको छ । प्रधानमन्त्री दाहालले डीआईजी नवराज सिलवाललाई आईजी बनाउँदा विवाद नहुने प्रस्ताव राखेपनि नेपाली कांग्रेसले स्वीकार नगरेपछि विकल्पको बाटो खोज्दै सरकारले अर्याललाई अगाडि बढाउने तयारी गरेको स्रोत बताउँछ ।






