काठमाडौं– सरकारले नयाँ संविधान संशोधन विधेयक तयार पार्दै प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ दलको बैठकमा भएको सहमतिअनुसार सीमांकनलाई हटाएर स्थानीय सरकार प्रमुखको अधिकार कटौती गर्दै संशोधन विधेयक तयार पारेका हुन् ।
नयाँ विधेयक तयार भइसकेका कारण मन्त्रिपरिषद् बैठकबाट निर्णय लिई प्रक्रिया अघि बढाइने कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए । प्रधानमन्त्री दाहालले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पनि संविधान संशोधनको नयाँ मस्यौदा तयार गरिसकेको खुलासा गरेका थिए ।
प्रधानमन्त्री दाहालले संशोधनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी कानुनमन्त्री नायकलाई नै दिएका थिए । मन्त्री नायकले तयार पारेको संशोधन प्रस्तावलाई प्रधानमन्त्री दाहालले अन्तिम रूप दिएका हुन् ।






