आफ्नो राहदानी अरुलाई प्रयोग गर्न दिए पाँच वर्ष कैद, ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– अब आफ्नो राहदानी अरु कसैलाई प्रयोग गर्न दिए पाँच वर्षसम्म कैद बस्नु पर्ने भएको छ । नयाँ संविधानबमोजिम राहदानी ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।

राहदानी ऐन २०५४ को दफा ५ लाई संशोधन गर्दै आफ्नो नामको राहदानी अरुलाई प्रयोग गर्न दिएमा वा अर्काको राहदानी प्रयोग गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ । यसैगरी, झुटो बयान वा विवरण दिई राहदानी प्राप्त गरेमा वा प्राप्त गर्न प्रयत्न गरेमा, नियमविपरीत विदेश भ्रमण गरेमा वा गर्ने प्रत्यन्न गरेमा वा नेपाल सरकारले दिएको आदेश वा निर्देशनको पालना नगरेमा,जुन उद्देश्यका लागि राहदानी जारी गरिएको हो सो बाहेक अन्य उद्धेश्यका लागि प्रयोग गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । यसअघिको व्यवस्थामा एक वर्षसम्म कैद र पाँच सय रुपैयाँ जरिवाना थियो ।

यो नियमको बर्खिलाप गर्दै अन्य कुनै काम कारबाही गरेमा निजलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुनेछ । यसमा एक वर्ष पुरानै व्यवस्था राखिएको छ भने जरिवाना पाँच सयबाट बढाएर १० हजार रुपैयाँ पुर्‍याइएको छ ।