एनआरएनए यूकेको विशेष महाधिवेशनमा उपस्थित हुन लण्डन आइपुगे अतिथीहरु डा. सुरेन्द्र केसी र दुई टिभी पत्रकार

लण्डन । नेपालका राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, एनटिभीका प्रस्तुतकर्ता रामप्रसाद भण्डारी र एपी वान प्रस्तुतकर्ता मनोज जोशी बिहिबार बिहान लण्डन आइपुगेका छन् ।

उनीहरु एनआरएनए यूकेको यही २१ मे आइतबार एम्पायर हल अल्डरशटमा हुने विशेष महाधिवेशनमा उपस्थितिका लागि आएका हुन् ।

उनीहरुलाई एनआरएनए यूकेको तर्फबाटअध्यक्ष प्रेम गाहा मगरले हार्दिक स्वागत गरे ।

‘हामीले उहांहरुको सहभागितामा ’वंशजको नेपाली नागरिकता निरन्तरता’ सम्बन्धी महत्वपूर्ण वहस सत्र समेत राखेका छौं । सबैजना कार्यक्रममा नछुटनु हुन अनुरोध छ’-अध्यक्ष गाहा मगरले भने । 

उक्त विशेष महाधिवेशनमा वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेबारे गम्भीर छलफल हुने उनको भनाइ छ । 

विशेष महाधिवेशनका लागि डा. शेस घले पनि प्रमुख अतिथीका रुपमा २० मेमा लण्डन आउंदै छन् ।  


गैर आवासीय नेपाली संघ बेलायतका सम्पूर्ण पञ्जीकृत सदस्यहरुसहित एनआरएनए आइसीसीका पदाधिकारी लगायत केन्द्रिय पूर्व अध्यक्षहरु, संरक्षकहरु, गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, बेलायतस्थित सबै संघसंस्थाका प्रतिनिधि, प्रवुद्ध वर्ग तथा अभियन्ताहरुलाई पनि निम्त्याइएको छ । 

उक्त महाधिवेशनमा संघको नयां नेतृत्व चयनका लागि तयारी सम्बन्धमा छलफल, विधान संशोधन, संस्थाको शुद्धीकरण तथा समुदायको एकीकरण र पारदर्शीता नाराको समिक्षा लगायत संघको अबका प्राथमिकता र भावी योजनाबारे विचार विमर्श हुने बताइएको छ ।