लन्डन । गुल्मी जिल्लावासी प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ तथा गुल्मीका पालिका अध्यक्षहरु शुक्रबार बिहान लन्डन आइपुगेका छन् ।
प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी, चन्द्रकोट गाउंपालिका अध्यक्ष युवराज खत्री क्षेत्री, धुर्कोट गाउंपालिका अध्यक्ष भुपाल पोख्रेल र मालिका गाउंपालिका अध्यक्ष देवीराम अर्याललाई हिथ्रो टर्मिनल थ्रीमा गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष ओम प्रसाद थापा, एआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, गुल्मेली यूके पत्रकार शिव भण्डारी लगायतले हार्दिक स्वागत गरे ।
‘हाइ प्रोफाइल’ गुल्मेलीहरु बेलायतको अवलोकन भ्रमणमा आएका हुन् । बेलायतको स्थानीय सरकार सन्चालन विधि, विकास, संसदीय अभ्यास आदिको प्रत्यक्ष अवलोकन एवं नेपाली समुदायका कार्यक्रममा साक्षात्कार गर्ने उनीहरुको योजना छ ।

भूतपूर्व गोर्खा, काउन्सिलर लिडर तथा सरकारी अधिकारीहरुसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ। नेपाली उल्लेख्य रहेको बेलायतका रसमोर र ग्रीनवीच काउन्सिलमा समेत पालिका अध्यक्षहरुको अन्तरकृया हुनेछ ।
बेलायतस्थित गुल्मी जिल्ला समाज युकेले पनि उनीहरुको सम्मानमा कार्यक्रम गर्दैछ ।
उनीहरु १ हप्ता पछि २७ मेमा नेपाल फर्कने कार्यक्रम छ ।







