भूतपूर्व गोर्खाको तेश्रो वार्ता १५ डिसेम्बरमा हुँदै, वार्ता सकारात्मक निचोडमा पुग्छ- प्रमुख संयोजक राई

लन्डन ।भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले उठाएका मागबारे तेश्रो चरणको वार्ता हुने भएको छ । त्रिपक्षीय वार्तामा नेपाल सरकारको टोली, बेलायती प्रतिनिधिमण्डल र भूपू ब्रिटिस गोर्खा प्रतिनिधि सहभागी हुनेछन् । (जीटुजी) तेश्रो चरणको वार्ता आउंदो १५ र १६ डिसेम्बरका दिन हुने भएको हो ।

बेलायती रक्षामन्त्रालयका तर्फबाट संयोजक तथा इन्टरनेशनल पोलिसी एन्ड स्ट्राटेजीका स्क्वाड्रोन लिडर गेभिन रिचार्डसनले १५ डिसेम्बर बिहान १० बजे वेलफेयर र १६ डिसेम्बर बिहान १० बजे पेन्सन सवालमा छलफलका लागि प्रस्ताव गरेका हुन् ।

लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल रत्न गोदारले वार्ताबारे बुधबार जानकारी दिएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जनाए ।तेश्रो चरणको वार्ता दोश्रो जस्तै प्राविधिक तहमा हुने पनि प्रमुख संयोजक राईले बताए ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई

‘वार्ता सकारात्मक ढंगले अगाडि बढिरहेको छ । के के प्राप्ति हुन्छ अहिले नै भन्न नसकिएपनि मार्चभित्र उपलब्धिमूलक वार्ता हुनेमा हामी आशावादी छौं’, राईले भने ।

यसअघि गत ३० नोभेम्बर बुधबार लन्डनस्थित नेपाली दूतावासमा भएको वार्तामा नेपाल सरकारका तर्फबाट दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल, ब्रिटिश रक्षा मन्त्रालयबाट आर्मर्ड फोर्सेस पिपुल सपोर्ट डिभिजनका जेम्स ग्रीनरड, जेनेभिभ होर्स्टेड, जेन्ना क्लेयर, म्याथ्यू लियोन, ब्रिगेड अफ गोर्खाज हेडक्वार्टरका कर्णेल डेभिड रविन्सन, इन्टरनेशनल पोलिसी एन्ड स्ट्राटेजीका स्क्वाड्रोन लिडर गेभिन रिचार्डसन र आर्मर्ड फोर्सेस पारिश्रमिक विभागकी नाजिया लोधी गोर्खा प्रतिनिधित्व गर्दै अवकासप्राप्त मेजरहरु जुदबहादुर गुरुङ, उदयबहादुर गुरुङ र टिकेन्द्र दल देवान समेतको सहभागितामा नेपाल र बेलायत सरकारका प्रतिनिधिहरुबीच प्राविधिक तहमा वार्ता भएको थियो । उक्त वार्तामा पहिलोपटक पेन्सन विषयमा गहन छलफल भएको थियो ।

भूतपूर्व गोर्खाका लागि ब्रिटिश सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अंगभंग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्य लगायत एजेण्डामा वार्ता केन्द्रित छ ।