श्रीमतीको हत्या गरी टाउको बोकेर आफै प्रहरी चौकी पुगे यी श्रीमान

सुर्खेत । सुर्खेतमा एक पुरुष श्रीमतीको हत्या गरी टाउको बोकेर प्रहरी चौकीतिर हिँड्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिका-३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई मंगलबार दिउँसो उनकी श्रीमती मिना आले मगरको टाउकोसहित नियन्त्रणमा लिएको हो ।

३० वर्षीया श्रीमती मिनालाई हँसियाले घाँटी रेटेर उनको टाउको छुट्याइ झोलामा बोकेर हिँडिरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सालकोटबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

आलेमगर आफैं टाउको बोकेर प्रहरी चौकीतिर जाँदै गरेको बुझिएको छ । उनले श्रीमती मिनाको मंगलबार हत्या गरेका हुन् । एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएका अम्मरले आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको बयान दिएका छन् । प्रहरीले मिनाको शव उनकै घरबाट बरामद गरेको छ।