लन्डन । बेलायतले लगाएको यात्रा प्रतिवन्ध, रेड लिस्ट’ बाट नेपालको नाम हटाइएको छ। सोमबार देखि नयां नियम लागू गरिने छ। ब्रिटिश सरकारले बिहीबार एक सूचना जारी गरी अब केवल पानामा, कोलम्बिया, पेरु, इक्वेडर लगायतका ७ ओटा मुलुक मात्रै ‘रेड लिस्ट’ मा रहने घोषणा गरेको छ।
यस अघि नेपाल लगायत ५४ ओटा मुलुक ‘रेड लिस्ट’ मा थिए। दक्षिण एसियाका अन्य मुलुकहरु ‘रेड लिस्ट’ बाट हटाइए पनि नेपाल भने उक्त लिस्टमा कायमै थियो। बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाले ‘रेड लिस्ट’ बाट नेपाललाई हटाउन ब्रिटिश सरकारलाई अपिल गरेका थिए। उनीहरुले ब्रिटिश सांसदहरुलाई पनि आग्रह गरेका थिए।
आउँदो सोमवारदेखि लागू हुने गरी बेलायतले अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरफेर गर्ने तालिकाअनुसार बेलायत सरकारले नेपाललगायत ४७ देशलाई रातो सूचीबाट हटाएको हो । रातो सूचीबाट हटेसँगै कोभिड १९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएकाहरू बेलायत जाँदा अनिवार्य होटल क्वरेण्टीनमा बस्नु पर्ने छैन ।
रातो सूचीमा हुँदा बेलायतले तोकिदिएको होटलमा १० दिन क्वरेण्टीनमा बस्नै पर्ने बाध्यता थियो । अब होम क्वरेण्टीनमा बस्दा हुनेछ । कोरोना महामारीका कारण बेलायतले नेपालसहित विश्वका धेरै देशलाई रातो सूचीमा राखेको थियो । बेलायतले अझै पनि पानामा, पेरु, कोलम्बिया, भेनेजुएला, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकलाई भने रातो सूचीमा नै राखेको छ ।
यस्तै, बेलायतले अक्सफोर्ड एस्ट्राजेनेका, फाइजर, मोडेर्ना र जोनसोन एण्ड जोनसोनको खोप लगाएकालाई आफ्नो देश प्रवेशमा अनुमति दिएको छ । नेपालबाट बेलायत जाँदा खोप लगाएको प्रमाण पेस गर्नुपर्ने छ।
लण्डनमा रहेको नेपाली दूतावासले बेलायतले नेपाललाई रातो सूचीबाट हटाएकोमा धन्यवाद दिएको छ । नेपाललाई रातो सूचीबाट हटाउन दूतावासले बेलायत सरकारसँग आग्रह गर्दै आएको थियो ।






